अभिनेता भुवन केसी र अभिनेत्री जीया केसीको सम्बन्ध न परिवार न त मिडियाबाट नै लुकेको छ । उनीहरु लामो समयदेखि एउटै घरको छतमुनी बस्दै आएका छन् । तर, उनीहरुको विवाह भने भएको छैन । कुनै समय नेपाली फिल्ममा बोल्ड सिन दिएर चर्चामा आएकी जीया भुवन केसीसँग नजिक भएपछि फिल्मबाट टाढा भइन् । त्यसयता उनले भुवन र उनको घर सम्हाल्दै आएकी छन् ।
यतिबेला भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष छन् । उनी अध्यक्षमा नियुक्त भएदेखि नै विभिन्न विवादमा पर्दै आएका छन् । फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्नबाट रोक्न बोर्डले विभिन्न कानुनी अड्चन निकालेको भन्दै अभिनेता प्रदीप खड्का अध्यक्ष केसीविरुद्ध खनिएका थिए । यतिबेला भुवनसँगै जीयाले पनि प्रदीपलाई फ्लप हिरो भन्दै कटाक्ष गरिरहेका छन् ।
आफूलाई छाँया झैं साथ दिइरहेकी जीयालाई लिएर भुवन बोर्ड पनि पुग्न थालेका छन् । मंगलवार फिल्म ‘भागवत् गीता’को नामलाई लिएर हिन्दू जागरण नेपालले बोर्डमा उजुरी पत्र बुझाउँदा भुवनको सरकारी कुर्सीको छेवैमा अर्की कुर्सी राखेर जीया पनि बसेकी थिइन् । यस्तो लाग्थ्यो उनी बोर्डको दोस्रो अध्यक्ष हुन् । उनले आफ्नो मोबाइलबाट त्यहाँको भिडियो खिचिरहेको तस्विर प्राप्त छ ।
रोचक कुरा के छ भने भुवन बस्ने कुर्सी नजिकै एउटा आकर्षक सोफा छ । तर, जीया त्यहाँ बसेकी छैनन् । उनी भुवनको कुर्सीसँगै टााँसिएको स्टिलको कुर्सीमा बसेकी छन् । यसबाट पनि भुवनको जीवनमा जीया कुन हदसम्म हावी छिन् भन्ने कुरा बुझ्न सकिन्छ । यो तस्विर बाहिरिएसँगै कतिपयले चलचित्र विकास बोर्डलाई भुवन र जीयाले ‘डेटिङ स्पट’ बनाएको आरोप समेत लगाएका छन् ।

