
बडा दशैंको अवसर पारेर असोज २१ गतेबाट प्रदर्शनमा आएको अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल अभिनीत फिल्म ‘२ नम्बरी’ले घरेलू बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेको छ । दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ मिलेका कारण प्रदर्शनको पाँचौं दिनसम्म पनि फिल्मको व्यापारमा गिरावट आएको छैन । सिंगल थिएटर र मल्टीप्लेक्स दुवैतिर दर्शक अकुपेन्सी राम्रो छ ।
निर्माता किरण नेपालीको भनाईलाई विश्वास गर्ने हो भने फिल्मले मुनाफा कमाइसकेको छ । यसैले उनले फिल्म निर्माणको क्रममा नेपथ्यमा बसेर काम गरेका प्राविधिकहरुलाई बोनस बाँड्ने भएका छन् । उनले भने- ‘फिल्म निर्माणको समयमा कम पारिश्रमिकमा निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं । फिल्म हिट बनाउनमा उहाँहरुको पनि ठूलो हात छ ।’
बोनस रकम कति दिने भन्नेबारेमा केही दिनमा टुंगो हुने उनको भनाई छ । फिल्मले गर्ने लाइफ टाइम कलेक्सननको आधारमा प्राविधिकलाई बोनस दिने उनको योजना छ । नेपालमा फिल्म हिट भएपछि निर्माताले छायांकनको समयमा प्राविधिकले गरेको दुःख सम्झिएर बोनस दिएका कमै उदाहरण छन् । प्राविधिकको हौसला बढाउन पनि बोनस दिने संस्कार बसाल्न आवश्यक छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको मुख्य भूमिका रहेको छ । फिल्मले समीक्षकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ । दर्शकले भने फिल्मलाई मनोरञ्जनको खुराक भनेका छन् । फिल्म हेरेका अधिकांश दर्शकले सौगात मल्लको अभिनय, पञ्चलाइनलाई बढी रुचाएका छन् ।

