Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

झरनाको ‘भागवत् गीता’ विवादमा, बोर्डमा पर्‍यो उजुरी

फिल्मीखबर, काठमाडौं, 2022/10/11
bhuwan kc
 
झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भागवत् गीता’ निर्माण नहुँदै विवादमा परेको छ । फिल्मको नामलाई लिएर एक हिन्दूवादी संस्थाले चलचित्र विकास बोर्डमा उजुरी हालेको छ । बुधवार हिन्दू जागरण नेपालले बोर्ड अध्यक्ष भुवन केसीलाई कार्यकक्षमै भेट गरेर बुझाएको उजुरी पत्रमा अन्तरजातीय प्रेमकथामा श्रीमद् भागवत् गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुन लाग्नु दुष्कृत्य (अनुचित कार्य) रहेको भनिएको छ । 
 
विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायद्वारा संयुक्त हस्ताक्षरीत उजुरी पत्रमा लेखिएको छ, ‘झरना थापाज्युले ‘भागवत् गीता’ नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ । यस्ता दुष्कृत्यलाई दोहोर्‍याउन खोजेको स्पष्ट देखिन्छ । त्यसैले यदि श्रीमद् भागवद्को पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरि फिल्मका दृश्य छन् भने मात्र प्रसारण होस् ।’ 
 
ग्रान्थको नाममा फिल्म निर्माणको अवस्था आएको खण्डमा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गरि कथा विषयवस्तुले धार्मिक क्षेत्र र सामाजिक मूल्य मान्यतामा आघात नहुने गरि मात्र निर्माण र प्रसारणको अनुमति दिन समेत बोर्डसँग हिन्दू जागरण नेपालले आग्रह गरेको छ ।
 
hindu jagaran
 
नेपालको मौलिक धर्म, परम्परा र संस्कृति आदिको संरक्षण गर्न फिल्म क्षेत्रले सशक्त भूमिका निर्वाह गर्नुको बदलामा अझै आघात पुर्‍याउने खालका गतिविधिहरु हुनु दुःखद् रहेको उजुरीमा उल्लेख छ । फिल्म ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै ?’ गीतमा धार्मिक पहिरन लगाएको ब्राह्मणलाई कमेडी रुपमा शो गर्नु, फिल्म ‘गरुड पुराण’मा गरुड पुराणसँग सम्बन्धै नराख्ने भल्गर नृत्य र कथा प्रस्तुत गरिएकोप्रति पनि हिन्दू जागरण नेपालले आपत्ति जनाएको छ । 
 
सुनिल कुमार थापाले निर्माण गर्ने ‘भागवत् गीता’को दशैंको फूलपातीबाट छायांकन सुरु गर्ने तयारी गरिएको थियो । तर, फिल्मका लागि मुख्य अभिनेताको टुंगो नलाग्दा छायांकन अनिश्चित बनेको छ । फिल्ममा अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ । मधेशी समुदायकी युवती र पहाडी समुदायका युवकबीचको प्रेमकथामा फिल्म आधारित हुने बताइएको छ । फिल्मको छायांकन सुरु हुन ढिलाई हुने भएपछि झरना र सुहाना एक कार्यक्रममा सहभागी हुन मंगलवार अमेरिका उडेका छन् ।