
बुधवारबाट भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन ८० वर्षका भएका छन् । फिल्म ‘सात हिन्दुस्तानी’बाट आफ्नो करिअरको सुरुवात गरेका उनको पछिल्लो रिलिज फिल्म ‘ब्रहास्त्र’ हो । जीवनको ८औं दशकमा पनि उनी अभिनयमा उतिक्कै सक्रिय छन् । उनलाई बलिउडमा ‘महानायक’ उपाधिले सम्बोधन गर्ने गरिन्छ । १५० वर्षको बलिउड इतिहासमा ५० वर्ष अमिताभ एक्लैको छ ।
उनको जन्मदिनमा बलिउडसँगै नेपालका कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका छन् । अभिनेता सरोज खनालले उनलाई फेसबुकमार्फत् जन्मदिनको शुभकामना दिँदै नेपालमा भेट गर्दाको यादगार क्षण सम्झिएका छन् । ‘महान’ नामक फिल्मको छायांकनका लागि नेपाल आएको समयमा तीन घन्टा कुरेर अमिताभसँग हात मिलाएको पल उनले स्मरण गरेका छन् ।
उनले लेखेका छन्, ‘अस्कल कलेजमा साइन्स पढ्दै थिएँ । तपाईं ‘महान’ फिल्मको सुटिङ गर्न मल्ल होटलमा आउँदै हुनुहुन्छ भन्ने सुनेर प्राक्टिकल क्लास छोडेर तपाईंलाई हेर्न र भेट्न जबर्जस्ती होटलमा छिरेँ । करिब ३ घण्टाको पर्खाइपछि तपाईं आउनुभयो । सौभाग्यबस्, त्यसदिन तपाईंसँग हात मिलाउने मौका मिल्यो । सायद त्यही बेलादेखि ममा अभिनय गर्ने भूत सवार भएको थियो ।’
सरोज खनालले एसएलसीको परीक्षा विर्सेर अमिताभ बच्चनको फिल्म ‘बेमिसाल’ हेरेको पनि स्मरण गरेका छन् । ‘म एसएलसीको पहिलो दिनको परिक्षा दिएर बानेश्वरबाट फर्कँदै थिएँ, क्षेत्रपाटीमा ‘बेमिसाल’ नामक फिल्म भिडियोमा देखाइँदै थियो । भोलिपल्ट म्याथको परीक्षा थियो । म्याथमा म राम्रै थिएँ । मन मानेन, भोलिपल्ट परिक्षा विर्सेर खाजा खान दाइले दिनुभएको २ रुपैयाँ ५० पैसा तिरेर हेर्न बसेँ । डेरामा आएर दाजुको पिटाइ खाएँ । किनकि, दाजु पनि त्यही फिल्म हेर्न बस्नु भएको रहेछ,’ उनले लेखेका छन् ।

