
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै विभिन्न पार्टीका उम्मेदवारले घरदैलो र सामाजिक सञ्जालबाट प्रचार-प्रसार थालिसकेका छन् । चुनावको बेला भोट र भीड बटुल्न कलाकारलाई प्रयोग गर्ने चलन छ । नातेदार उम्मेदवारको रुपमा खडा भए कुनै पार्टीमा आबद्ध नभएका कलाकारहरुलाई पनि प्रचार गर्नुपर्ने दबाब हुन्छ ।
तर, कलाकार हरिवंश आचार्यले विभिन्न पार्टीबाट उम्मेदवार बनेका नातागोता, साथीभाईलाई प्रचार-प्रसारको आशा नगर्न आग्रह गरेका छन् । नाता र आत्मिय सम्बन्ध गाँसिएका व्यक्तिहरु उम्मेदवार बनेपछि कलाकारबाट प्रचारमा हिँडेर भोट माग्न सहयोग गरिदिने आशा राख्नु स्वभाविक भए पनि सबै उम्मेदवारहरु साझा मानिस भएकाले प्रचारको आशा नगर्न आचार्यको आग्रह छ ।
उनले मंगलवार आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘ब्यालेट बक्समा खसाल्ने मतपत्रको कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो । तर कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिँदैन यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मियता र नातालाई पवित्र नै राखेर चुनावमा हामीबाट प्रचार-प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु ।’ उनको यो स्टाटसमा धेरैले सहमति जनाएका छन् ।
आचार्यले स्थानीय तह, प्रतिनिधि र प्रदेश सभा सबै निर्वाचनमा मत हाल्दै आएका छन् । तर, उनी अहिलेसम्म कुनै पार्टीमा आबद्ध भएका छैनन् भने कुनै उम्मेदवारका लागि खुलेर मत पनि मागेका छैनन् । यतिबेला उनी आफू अभिनीत फिल्म ‘महापुरुष’को प्रचारमा व्यस्त छन् । सर्लाही रैथाने प्रदीप भट्टराई निर्देशित यो फिल्म आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आने तयारीमा छ ।

