Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘महापुरुष’ ट्रेलर रिलिज, बुढ्यौली प्रेम र बिहेको कथा

फिल्मीखबर, काठमाडौं, 2022/10/10
Mahapurush
 
महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत फिल्म ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार यूट्युबमा सार्वजनिक गरिएको ३ मिनेट ८ सेकेन्ड लम्बाईको ट्रेलरमा बुबा र सन्तानबीचको कथा भनिएको छ । छोराको बिहे गर्ने समयमा बुढ्यौली पिताको अंकुराएको प्रेम र बिहे गर्ने निर्णयपछि आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरबाट प्रस्ट्याइएको छ । 
 
ट्रेलर हेर्दा फिल्मको कथा हरिवंश आचार्यको वास्तविक जीवनसँग मिल्दोजुल्दो देखिन्छ । श्रीमतीको निधनपछि छोरा (अरुण क्षेत्री) लाई हरिवंशले आमाको अभाव हुन दिएनन् । जब अरुण कोही युवतीका प्रेममा डुब्छन् र बिहेको सोचमा हुन्छन् तब हरिवंशको जीवनमा गौरी मल्ल आउँछिन् । त्यसपछि परिवार र समाजबाट के कस्ता अवरोधहरु आउँछन् भन्ने कुरा ट्रेलरमा देखाइएको छ । 
 
कात्तिक ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय छ । फिल्मका निर्देशक प्रदीप भट्टराई हुन् । 
 
समाजले कसरी मान्छेलाई महापुरूष बनाउँछ भन्ने स्थितिलाई ‘महापुरूष’ले व्यंग्य गरेको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डि. गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा फिल्ममा डेब्यू गरेका छन् ।