वडा दशैँको अवसरमा रिलिज भएको फिल्म ‘२ नम्बरी’ले पहिलो शुक्रबार र शनिबार उत्साहपूर्ण व्यापार गरेको बताईएको छ । यो फिल्मले देशैभर राम्रो व्यापार गरेको वितरक रोहित कट्टेलले पुष्टी गरेका छन् । कति रकम ग्रस गर्यो भन्ने तथ्यांक नआईसकेको भएता पनि फिल्मको व्यापार सुखद रहेको निर्माता किरण नेपालीले बताए । हामीसँग कुरा गर्दै उनले काठमाडौँ उपत्यका बाहिर सोचेभन्दा राम्रो व्यापार गरेको बताएका छन् ।
.jpg)
दीपेन्द्र लामा निर्देशित यस फिल्ममा एक दशकदेखीको सुपरहिट जोडी दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेकाले फिल्मलाई काठमाडौं र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुले उल्लेख्य शो प्रदान गरेका छन् । असोज ७ गतेदेखि चलिरहेको ‘प्रेम गीत ३’ र असोज १४ गतेको ‘बाबरी’, भारतिय फिल्महरु ‘विक्रम वेदा’ र ‘पिएस वान’का बावजूद पनि यो फिल्मले उल्लेख्य शो प्राप्त गरेको थियो ।
दया र सौगातसँगै उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामालगायतको पनि फिल्ममा अभिनय छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् ।

