जब दशैं नजिकिन्छन् तब हरेक नेपालीलाई बाल्यकालको सम्झनाले सताउँछ । बाल्य अवस्थामा नयाँ लुगा लगाउने, मिठा परिकार खाने र दशैंमा पाउने दक्षिणाको कम महत्व हुँदैनथ्यो । तर, काँधमा जिम्मेवारी बढेपछि दशैंको महत्त्व पनि कम हुँदै जान्छ । यसैले त सबैलाई बाल्यकालको दशैं झलझल्ती याद आउँछ । हुन पनि बाल्यकालमा न कुनै कुराको पिर हुन्थ्यो न भविष्यको कुनै चिन्ता ।
सेलिब्रेटीहरु पनि अहिलेको भन्दा बाल्यकालको दशैं रमाइलो लाग्ने स्मरण गर्छन् । त्यसबेला दशैंको टीकाभन्दा दक्षिणा प्यारो हुने गरेको अभिनेत्री करिश्मा मानन्धर सम्झन्छिन् । बाल्यकालको प्रायः दशैं उनले मामाघरमा मनाएकी छन् । उनी दशैं आएपछि दक्षिणा पाउने कुराले फुरुंग हुन्थिन् । भान्जी भएकाले सबैले टीका लगाएर दक्षिणा दिँदा उनको खुसीको सीमा हुँदैन थियो । उनलाई बाल्यकालको दशैंले अझै पनि सताउँछ ।
अभिनेता तथा निर्माता रमेश उप्रेती पनि बाल्यकालको दशैं अहिलेको भन्दा विशेष हुने गरेको सम्झन्छन् । उनी भन्छन्, ‘दशैंमा यस्तो लुगा लगाउने भनेर बुबा-आमासँग हाम्रो डिमाण्ड हुन्थ्यो । हरेक दिन जस्तो मासु खान पाइने, पिङ खेल्न पाइने, टिका लगाइसकेपछि आशिर्वादभन्दा पनि दक्षिणा निकै प्यारो हुन्थ्यो । पैसा पाउनकै लागि म धेरै आफन्तको घर जान्थें । यस्ता धेरै घट्नाहरु छन्, जसले बाल्यकालमा मनाएको दशैंको याद दिलाउँछ ।’
असोज २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हिजो आजका कुरा’को प्रचारमा व्यस्त अभिनेत्री ऋचा शर्मालाई पनि बाल्यकालमा दक्षिणा नै प्यारो हुन्थ्यो । तर, अहिले उनी दक्षिणाभन्दा आर्शिवादको लोभी छिन् । उनलाई सानैमा बुबाले टीका लगाएर दक्षिणा स्वरुप ५ सय रुपैयाँ दिएको अझै पनि याद छ । किनकि, उनले बाल्यकालमा पाएकोमध्ये यो नै सबैभन्दा ठूलो दक्षिणा थियो ।

यतिबेला फिल्म ‘प्रेमगीत ३’को सफलताले पुलकित अभिनेता प्रदीप खड्कालाई पनि बाल्यकालकै दशैं र दक्षिणाको खुब याद आउँछ । दशैंमा टीका थापिसकेपछि उनी कसको दक्षिणा धेरै भन्दै बहिनीसँग प्रतिस्पर्धा नै गर्थे रे । बहिनीभन्दा आफ्नो कम दक्षिणा भएपछि उनी निकै दुखी हुन्थे । बाल्यकालमा टीका लगाएर मामाबाट एक हजार रुपैयाँ दक्षिणा पाएको उनले अझै विर्सिएका छैनन् ।
निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई पनि बाल्यकालमा दक्षिणाकै लोभ हुन्थ्यो । उनी छोरीहरुलाई टन्नै पैसा दिएपनि आफूले नपाउँदा निकै दुखी हुन्थे । उनी सम्झन्छन्, ‘अरुले गोजीमा पैसा बोकेको देखेपछि मलाई मामाघर जाऔं जाऔं लाग्थ्यो । अनि टीकाकै दिन मामाघर हिँड्थेँ ।’
अभिनेत्री दीपिका प्रर्साइँलाई पनि बाल्यकालकै दशैं रमाइलो लाग्छ । दशैंमा ठूलाबडाले टिका लगाएपछि उनलाई दक्षिणाकै लोभ हुन्थ्यो । उनले बाल्यकालमा काका-कार्कीबाट बाल्यकालमा सबैभन्दा धेरै दक्षिणा पाएकी रहेछिन् । काका-कार्कीबाट आफूले २५ सय पाएको उनलाई ताजै सम्झना छ । तर, अहिले उनलाई आर्शिवादकै लोभ हुने गर्छ ।
अभिनेता पुष्प खड्का पनि बाल्यकालमा ठूलाबडाको आर्शिवादभन्दा दक्षिणाको सबैभन्दा बढी लोभ हुने गरेको स्मरण गर्छन् । उनले बाल्यकालमा मामा घरमा सबैभन्दा धेरै दक्षिणा पाउने गरेका रहेछन् । उनी स्मरण गर्दै भन्छन्, ‘मामा घरको हजुर आमा हजुरबुबाले ५ सय रुपैयाँ दिँदा भूइँमा खुट्ट हुँदैन थियो । त्यो पैसा ६ महिनासम्म पनि माँसिदैन थियो । तर, अहिले आर्शिवाद थाप्नका लागि मात्र आफूभन्दा अग्रज कहाँ जाने गरेको छु । धेरै पैसा दिँदै हुनुहुन्छ भने पनि दक्षिणाको नाममा पचास सय रुपैयाँ मात्र दिनु भन्छु ।’

