Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दशैंमा सर्वाधिक घन्किने पाँच फिल्मी गीतहरु

फिल्मीखबर डटकम, काठमाडौँ, 2022/10/04
दशैंले नेपालीहरुको घर-आँगना टेकिसकेको छ । शहर होस् वा गाउँघर, जताततै यतिबेला दशैंको माहोल छ । दशैंको यो मौसमको कुरा गर्ने अनि दशैंको महत्त्व झल्काउने संगीतको कुरा नगर्ने हो भने अपूरो हुन्छ । दशैंलाई लक्षित गरेर वर्षेनी सयौं गीतहरु सार्वजनिक हुने गर्छन् । तर, सबै गीतले स्थायीत्व पाउन सक्दैनन् । तर, केही यस्ता गीतहरु पनि छन् जसलाई दशैंको पर्यायका रुपमा लिने गरिन्छ । 
 
दशैंको रमाइलो, खुसीयाली र महत्त्व झल्काउने गीतहरु धेरै नेपाली फिल्महरुमा समावेश छन् । तर, पछिल्लो समय नेपाली फिल्ममा खासै दशैं गीत समेटिएका छैनन् । जसले गर्दा दशक पुराना गीतहरु नै वर्षेनी सर्वाधिक रुपमा घन्किँदै आएका छन् । आज हामी तपाईँहरुलाई दशैंको बारेमा गाइएका पाँच सदाबहार फिल्मका गीतहरु प्रस्तुत गर्दैछौँ । 
 
१. ‘दशैं आयो...’
दशैंको बारेमा गाइएको सबैभन्दा लोकप्रिय गीत हो, ‘दशैं आयो..’ । स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘मुग्लान’ मा समावेश यस गीतमा परदेश गएको छोरा घर आएको, छोराको बाटो हेर्ने आमाको वर्णन, जमरा र रातो टीका, गाउँघरमा पिङ खेलेका कुरा गरिएको छ । दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा यो गीतमा देखिएका छन् । 
 
गीतमा उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा र जुना प्रसाईंको संयुक्त गायन छ । सुरेश अधिकारीको संगीत रहेको गीतका सर्जक लोकनाथ सापकोटा हुन् । अमुल कार्कीको गीतमा एरेञ्ज छ । धन कमाउन परदेश गएका युवाहरुको कथामा निर्मित फिल्ममा ‘दशैं आयो..’ गीत कथावाचनको रुपमा राखिएको छ । 
 
 
२. ‘रातो टीका निधारमा टलक्क टल्कियो...’
दशैं आएको अनुभूति गराउने अर्को गीत हो, ‘रातो टीका निधारमा टलक्क टल्कियो’ । यो दुई दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’को गीत हो । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर गीतमा प्रस्तुत छन् । सहदेव ढुंगानाको शब्द रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । शम्भुजित बाँस्कोटाले गीतमा संगीत भरेका छन् । फिल्मलाई अशोक शर्माले निर्देशन गरेका थिए । 
 
यो गीतको रिमेक भर्सन पनि सार्वजनिक भइसकेको छ । यही गीतको नाम सापटी लिएर निर्माण भएको फिल्म ‘रातो टीका निधारमा’मा उक्त गीतलाई रि-एरेञ्ज गरेर समावेश गरिएको थियो । रि-एरेञ्ज गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ । रि-एरेञ्ज गरिएको गीतलाई पनि दर्शकले निकै रुचाएका छन् । 
 
 
३. ‘रातो टीका दशैंको जमरा...’
दशैंमा बज्ने सदाबहार गीतमध्येको एक हो, ‘रातो टीका दशैंको जमरा’ । यो गीत डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘मनमन्दिर’मा समावेश छ । युवराज लामा निर्देशित फिल्मको यस गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह प्रस्तुत छन् । यो गीतले पनि दशैं आएको अनुभूति गराउँछ । गीतमा राजेश हमाल निरुताको दिलको कोठामा डेरा सर्ने कुरा गरेका छन् ।
 
 
 
४. ‘यसपाली पनि परदेशमै वित्ने भो दशैं तिहार...’
परदेशीको पीडा बोल्ने यो गीत फिल्म ‘देशदेखि विदेशसम्म’को हो । दशैंबारे गाइएको यो सदाबहार गीतमा विदेशमा बसेका नेपालीहरुले दशैं मनाएको र दशैंमा नेपाल सम्झेका पलहरुलाई बुनिएको छ । गीतमा रामकृष्ण ढकालको स्वर छ । गीतमा अभिनेता निखिल उप्रेतीलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्देशक भने नरेन्द्र थापा हुन् । 
 
 
 
५. ‘लै बरी लै लै...’
दुई दशक अगाडिको तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘लहना’मा समावेश गीत हो यो । दशैं आएको सम्झाउने यो गीतमा दशैंको वातावरण चित्रण गरिएको छ । गीतमा अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान फिचर्ड छन् । गीतको शब्द तुलसी घिमिरेले लेखेका हुन् भने संगीत सचिन सिंहको छ । गीतमा थुप्तेन भूटिया र दीपा झाको स्वर छ ।