Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘के घर के डेरा’का निर्मातालाई रिमेशको प्रश्न- ‘नालापानी’को तौल उचाल्न सक्नुहुन्छ ?

फिल्मीखबर, काठमाडौं, 2022/10/01
दशैं र तिहार जस्तो पर्वमा फिल्म प्रदर्शन गर्न नेपाली निर्माताहरुबीच ठूलै हानाथाप हुन्छ । लामो समय विदा हुने भएकाले व्यापार राम्रो हुने अपेक्षामा निर्माताहरु दशैं र तिहारको विदा उम्काउन चाहँदैनन् । यसैले यी दुई ठूला पर्वमा प्रायः नेपाली फिल्मबीच भिडन्त हुँदै आइरहेको छ । यसपालीको तिहारमा पनि दुई फिल्म ‘नालापानी’ र ‘के घर के डेरा’ प्रदर्शनमा आउने तयारीमा छन् ।
 
तिहारलाई लक्षित गर्दै कात्तिक ४ गतेलाई सबैभन्दा पहिला ‘नालापानी’ले प्रदर्शन मिति तोकेको थियो । यसको केही हप्तापछि ‘के घर के डेरा’ले पनि त्यही मिति लक गर्‍यो । यी दुवै फरक विषयवस्तुमा बनेका फिल्म हुन् । ‘नालापानी’ नालापानी गढीमा अंग्रेजी सैनिकसँग नेपाली फौजले नेपाललाई बचाउन गरेको लडाईंमा आधारित छ भने ‘के घर के डेरा’ कमेडी कथावस्तुमा बनेको हो । 
 
‘नालापानी’का निर्देशक तथा निर्माता रिमेश अधिकारीले नेपालको गौरव गाथामाथि बनेको फिल्मसँग भिड्न नैतिकताको हिसाबले कति जायज भन्दै ‘के घर के डेरा’का निर्मातालाई प्रश्न गरेका छन् । उनले चलचित्र विकास बोर्डदेखि निर्माता संघसम्ममा एकल रिलिजको प्रवन्ध मिलाइदिन आग्रह गर्दै निवेदन लेखेको भए पनि भिड्न आएको फिल्मका निर्माताले नटेरेको रिमेशको भनाई छ । 
 
Rimesh Adhikari
 
निर्देशक अधिकारीले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा भने, ‘हाम्रो फिल्मसँग जो फिल्म जुधिरहेको छ, उहाँहरुले ‘नालापानी’लाई सामान्य रुपमा लिनुभएको हो कि ? यो त उहाँहरुको पनि फिल्म हो । जुध्न लागेको फिल्म र ‘नालापानी’लाई एउटै तराजुमा जोख्ने हो भने के त्यो तौल उचाल्न सक्नुहुन्छ उहाँहरुले ? यो रिमेश अधिकारीको टिमको मात्र फिल्म होइन, सारा नेपालीको फिल्म हो ।’ 
 
‘के घर के डेरा’का निर्माताको ठाउँमा आफू भएको भए तीन महिना पछाडि सरेर सकेको सहयोग गर्ने उनले बताए । उनी अगाडि भन्छन्, ‘यो मितिमा अरु फिल्म आउनै नपाउने भन्ने होइन । तर, देशको गर्विलो इतिहासमा बनेको फिल्मसँग जुधाउन नैतिकता र मनले कति जायज हो ? उहाँहरु आउँदा मलाई समस्या होइन तर उहाँहरु पनि नेपाली हो नि । ‘नालापानी’ उहाँहरुको होइन र ?’
 
उनले ‘नालापानी’ बनाउँदा पाइलैपिच्छे समस्या भोगेको र ९ वर्षको मिहेनतपछि फिल्म प्रदर्शन हुन लागेको बताए । नेपाली सेनाको सहयोगसहित १३ करोडको लागतमा फिल्म बनेको उनको भनाई छ । निर्माताबाट ६ करोड लगानी भइसकेको र प्रदर्शनसम्म अरु थप ५० लाख खर्च हुन सक्ने बताउँदै निर्देशक अधिकारीले यो फिल्म पैसा कमाउनका लागि नभइ राष्ट्रका लागि बनाएको बताए ।