
दिपावलीको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १८ सेकेन्ड लम्बाईको कमेडी ट्रेलरमा काठमाडौंमा घर हुने र घर किन्न संघर्ष गर्ने पात्रहरुको कथालाई देखाइएको छ । ट्रेलरमा अभिनेता विपिन कार्कीलाई बढी प्राथमिकता दिइएको छ ।
भूकम्पले चर्किएको घरमा डेरा लिएर बस्ने एक दाम्पति (सुरक्षा पन्त र दयाहाङ राई) काठमाडौंमा घर किन्न ऋणका लागि बैंक-बैंक धाएका छन् । उता काठमाडौंमा घर भएर पनि जेठी श्रीमतीले आफ्नो कब्जामा पारेपछि विपिन कार्की तनावमा मेडिटेसनका लागि डाक्टरसम्म पुगेका छन् । नक्कली लालपूर्जाको चलखेलले उब्जिएको समस्यालाई ट्रेलरमा रोचक शैलीमा उतारिएको छ ।
‘पशुपति प्रसाद’ जस्तो अब्बल फिल्म पस्किसकेका दीपेन्द्र के. खनाल निर्देशित फिल्मको पटकथा तथा संवाद महेश दवाडीको हो । फिल्ममा दयाहाङ, सुरक्षा र विपिनसँगै वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकाल बाल कलाकारलगायतको पनि अभिनय छ ।
सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । ‘जात्रै जात्रा’पछि दयाहाङ र विपिन एकसाथ देखिएकाले यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ ।

