.jpg)
‘चुलबुल चुलबुल’ र ‘बाबरी रंग’ गीतका कारण चर्चामा रहेको सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । रिलिजको पूर्वसन्ध्यामा बिहीवार साँझ काठमाडौंको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा फिल्मले सुखद् प्रतिक्रिया पायो । प्रिमियरमा उपस्थित अधिकांश पाहुनाले कलाकारको अभिनय, कथावस्तु, छायांकन र गीत-संगीतको प्रशंसा गरेका थिए ।
अभिनेत्री जसिता गुरुङले फिल्म इन्टरटेनिङ र राम्रो फिल्ममा हुनुपर्ने सम्पूर्ण एलिमेन्ट्स रहेको भन्दै प्रशंसाको फूलबुट्टा भरिन् । उनले प्रिमियरमा सञ्चारकर्मीसँग भनिन्, ‘गीतहरु एकदमै राम्रा छन् । कलाकारको काम पनि मन पर्यो । छायांकन पनि उत्कृष्ट छ ।’ उनले फिल्मका कलाकारहरु धिरज मगर, अदिती बुढाथोकी र डेब्यू ब्वाई धिरज नाडकरको अभिनयको पनि तारिफ गरिन् ।
.jpg)
फिल्ममा अदितीलाई एकदमै सुन्दर र स्ट्रोङ देखिएको बताउँदै जसिताले धिरज नाडकरको अभिनय पनि उत्कृष्ट लागेको बताइन् । धिरजले भारतमा केही काम गरिसकेकाले त्यो अनुभव फिल्ममा देखिएको उनको भनाई थियो । उनले धिरजसँग काम गर्ने इच्छा पनि व्यक्त गरिन् । अर्का धिरजसँग एक फिल्ममा काम गरिसकेकी जसिताले उनलाई भर्सटायल कलाकार भन्दै प्रशंसा गरिन् ।
उनले भनिन्, ‘धिरज मगरसँग मैले ‘आई एम ट्वान्टिवान’मा सँगै काम गरेको छु । ‘बाबरी’ हेरेपछि मलाई धिरज भर्सटाइल कलाकार हो भन्ने लाग्यो । मलाई ऊप्रति गर्व छ । मैले पनि सानो राजासाहेब (धिरजले निर्वाह गरेको चरित्रको नाम) जस्तो माया गर्ने मान्छे पाए हुन्थ्यो भन्ने लागेको छ ।’ पहिलो फिल्ममा भन्दा ‘बाबरी’मा धिरजको अभिनयमा अझ परिपक्वता आएको उनको तर्क थियो ।

प्रिमियरमा उपस्थित भएका कलाकार सन्दीप क्षेत्रीले धिरज मगरको अभिनयले सरप्राइज भएको बताए । आफूले अपेक्षा गरेभन्दा धिरजको अभिनय धेरै माथिको रहेको उनको भनाई थियो । अभिनेत्री बेनिशा हमालले पनि कलाकारदेखि निर्देशकिय पक्षसम्मको प्रशंसा गरिन् । अर्की अभिनेत्री शिल्पा मास्केले एउटा प्याकेजको फिल्म रहेको बताउँदै कलाकारको काम मन परेको बताइन् ।
तस्विर : सुरेन्द्र थापा (स्माइल)

