
बडा दशैंको अवसर पारेर शुक्रवारबाट फिल्म ‘बाबरी’ले प्रदर्शन थालनी गरेको छ । दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको फिल्मलाई बक्सअफिसमा भने दुई ठूला भारतीय फिल्म ‘विक्रम वेधा’ र ‘पिएस वान’को चुनौती छ । यी दुई फिल्मका कारण ‘बाबरी’ले चर्चाअनुरुप ठूलो संख्यामा मल्टीप्लेक्सहरुमा शोज पाउन सकेको छैन । तर, पाएको शो सुखद् छ ।
गीतसंगीत र ट्रेलरले चुल्याएको हाइपले फिल्मको इनिसियल व्यापारमा धेरथोर सहयोग पुग्न सक्छ । ‘वर्ड अफ माउथ’ बलियो हुन सके फिल्मले दशैंको एक हप्ता लामो विदाको फाइदा पनि उठाउन सक्नेछ । अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी ४ वर्षपछि पर्दामा फर्किएकाले उनीहरुको फ्यान फ्लोइंगले पनि सुरुवाती व्यापारमा भूमिका खेल्न सक्ने विश्लेषण गरिएको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मले बिहीवार साँझ काठमाडौंमा भएको प्रियिमरमा सुखद् प्रतिक्रिया बटुलेको थियो । यो फिल्मबाट डेब्यू गरेका धिरज नाडकरको अभिनयको प्रियिमरमा उपस्थित अधिकांश पाहुनाले प्रशंसा गरेका थिए भने अर्का धिरजले पनि प्रशंसा कमाए । त्यस्तै, अदितीको सुन्दरताको तारिफमा शब्द खर्चिने फिल्मकर्मी पनि कम थिएनन् ।
‘बाबरी’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको पनि अभिनय छ । अदिती बुढाथोकीका बुबा-आमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्मको निर्माण गरेका हुन् । नरेन्द्र मैनालीले फिल्मको छायांकन गरेका हुन् ।

