
९० को दशकमा नेपाली फिल्ममा ठूलो नाम बनाएकी चर्चित अभिनेत्री तृप्ति नाडकरका छोरा धिरजले पनि नेपाली फिल्ममा पाइला राखेका छन् । धिरज अभिनीत पहिलो नेपाली फिल्म ‘बाबरी’ असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ । आफ्नो छोराको फिल्म रिलिजको पूर्व सन्ध्यामा तृप्तिले भिडियो सन्देशमार्फत् आफूले नेपालमा पाएको माया छोराले पनि पाउने आशा व्यक्त गरेकी छन् ।
फिल्ममा समावेश ‘मायाका रंगहरु’ गीत गुनगुनाउँदै धिरजसँग भिडियोमा देखिएकी उनले भनेकी छन्, ‘धेरै फिल्ममा तपाईंहरुले मेरो कामको प्रशंसा गर्नुभयो । त्यसका लागि म आभारी छु । तपाईंहरुले दिएको माया कहिल्यै बिर्सन्नँ । आज मेरो छोराले नेपाली फिल्ममा पाइला राख्दैछ । मलाई विश्वास छ कि मलाई जति माया गर्नुभएको थियो, त्यत्तिकै माया मेरो छोरालाई पनि गर्नुहुनेछ ।’
पछिल्लो पटक फिल्म ‘मानव’मा देखिएकी तृप्ति त्यसपछि जन्मथलो भारत हानिएकी थिइन् । उनी विगत ८ वर्षदेखि शिक्षण पेशामा आबद्ध छिन् । ‘बाबरी’की निर्मात्री पुष्पलता बुढाथोकी उनको मिल्ने साथी हुन् । पुष्पलताले तृप्तिलाई फिल्म अफर गर्दा उनले आफ्नो छोराको नाम सिफारिस गरेकी थिइन् । र, निर्देशक सुरेन्द्र पौडेलले धिरजको तस्विरहरु हेरेपछि फिल्ममा भित्राएका थिए ।
त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा धिरजसँगै धिरज मगर, अदिती बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनलगायतको पनि अभिनय रहेको छ । भारतमा जन्मे-हुर्किएका धिरजले ‘बाबरी’मा पनि भारतीय नागरिककै भूमिकामा अभिनय गरेका छन् ।

