एक समय नेपाली फिल्ममा आफ्नो सशक्त उपस्थिति जनाएकी अभिनेत्री तृप्ति नाडकर ८/९ वर्षदेखि काँचको पर्दामा देखिएकी छैनन् । उनी नेपाल नआएकै ८ वर्षभन्दा बढी भइसकेको छ । केही वर्षयता उनी भारतमा शिक्षण पेशामा आबद्ध छिन् । ‘कुशुमे रुमाल’, ‘चिनो’, ‘सम्झना’, ‘लाउरे’, ‘कोशेली’ जस्ता कयैन् यादगार फिल्म दिएकी उनलाई पुनः पर्दामा हेर्न दर्शकहरु अधैर्य छन् ।
तृप्तिलाई नेपाली फिल्ममा अभिनय गर्ने हुटहुटी अझै मरेको छैन । राम्रो स्क्रिप्टबाट अफर आए फिल्ममा अभिनय गर्न तयार रहेको उनले ‘क्लोज-अप’ नामक किताबमा बताएका छिन् । तर, तृप्तिको कमब्याक अनिश्चित भए पनि उनका छोराले आमाको बाटो पछ्याउँदै नेपाली फिल्मबाट डेब्यू गरेका छन् । उनका छोरा धिरज नाडकर अभिनीत फिल्म ‘बाबरी’ शुक्रवारबाट प्रदर्शन हुँदैछ ।

धिरजले नेपाली फिल्ममा डेब्यू गर्दै गर्दा आमाको लिगेसीलाई बचाउनु पर्ने सबैभन्दा ठूलो चुनौती छ । अभिनयको माध्यमबाट तृप्ति जसरी दर्शकको प्रिय बनिन्, धिरजले पनि अभिनयमा आफूलाई अब्बल प्रमाणित गर्नुपर्नेछ । यस हिसाबमा ‘बाबरी’ उनका लागि अग्नि परिक्षा हो । दर्शकले उनलाई पर्दामा हेरिरहँदा तृप्ति नाडकरलाई आँखामा राखेर हेर्नेछन् र अभिनयको लेखाजोखा गर्नेछन् ।
भारतमै जन्मे-हुर्केका धिरज फिल्ममा भारतीय नागरिकको भूमिकामा छन् । फिल्ममा उनले हिन्दी टोनमा नेपाली भाषा बोलेका छन्, जुन दर्शकलाई नयाँ लाग्न सक्छ । ट्रेलरमा उनको डाइलग डेलिभरी रुचाइएको छ । अब हलमा दर्शकलाई बाँधेर राख्नुपर्ने चुनौती उनीमाथि छ । ‘बाबरी’ सफल भएर उनको अभिनयको पनि प्रशंसा भए नेपाली फिल्ममा उनले लामो यात्रा गर्न सक्नेछन् ।
धिरजले नेपाली फिल्मभन्दा अगाडि मुम्बईमा बसेर थुप्रै विज्ञापन र सिरिजमा अभिनय गरेका छन् । जसले गर्दा उनलाई अभिनयको धेरथोर अनुभव छ । फिल्मको प्रमोशनका लागि विगत एक महिनादेखि नेपालमा रहेका उनी प्रदर्शन मिति नजिकिँदै गर्दा नर्भससँगै उत्साहित पनि रहेको बताउँछन् । फिल्ममा आफूले निर्वाह गरेको रोनितको क्यारेक्टर दर्शकलाई नयाँ लाग्ने धिरजको विश्वास छ ।
उनी भन्छन्, ‘मैले करिअरको १० वर्षमा पहिलो पटक नेपाली फिल्ममा अभिनय गर्न पाएँ । त्यही नै मेरो लागि ठूलो कुरा हो । र, यो फिल्मबाट मैले धिरज मगर र अदिती बुढाथोकी जस्तो साथी कमाएको छु । यो मेरो लागि जीवनभरको कमाई हो । धिरज र अदितीले मलाई वर्कसपदेखि प्रमोसनसम्म एकदमै सहयोग गरेका छन् । मैले उनीहरुभन्दा राम्रो को-एक्टर पाउँछु भन्ने लाग्दैन ।’

