बडा दशैंको अवसर पारेर असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाबरी’का तीन प्रमुख कलाकारहरुले काठमाडौंका दर्शकसँग साक्षात्कार गरेका छन् । बुधवार नयाँ बसपार्कको लोत्से मल अगाडि आयोजित ‘फ्यान्स मिट एन्ड ग्रिट’ कार्यक्रममा अभिनेता द्वय धिरज मगर र धिरज नाडकरसँगै अभिनेत्री अदिती बुढाथोकीलाई हेर्न दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
आफ्नो आँखा अगाडि पर्दाका कलाकारहरुलाई देख्दा दर्शकहरुले हुटिङ गरेर माहोल तताएका थिए । धिरज मगरसँग सेल्फी र अटोग्राफ लिन युवतीहरुबीच चलेको तछाड-मछाड हेर्न लायक थियो । अदितीलाई ‘आई लभ यू’ भन्ने दर्शकको पनि कमी थिएन । त्यस्तै, भारतीय मुलका डेब्यू ब्वाई धिरज नाडकरले टुटेफुटेको नेपाली भाषा बोल्दा दर्शकहरुले रमाइलो महसुस गरेका थिए ।
दर्शकसँग साक्षात्कारपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अदितीले दर्शकमा फिल्मप्रति देखिएको उत्साहले थप हौसला मिलेको बताइन् । ‘हिजो-अस्तिसम्म अलि नर्भस थिएँ । तर, दर्शकको यस किसिमको उत्साह र मायाले हौसला मिलेको छ । दर्शकहरु फिल्म हेर्नका लागि आतुर रहेको पाएँ । शुक्रबारबाट यस्तै किसिमको माया पाउनेमा विश्वस्त छु,’ अभिनेत्री बुढाथोकीले भनिन् ।
त्यस्तै, दुई धिरजले फिल्मप्रतिको दर्शकको उत्साहले आफूहरु उत्साहित रहेको बताए । ‘प्रमोशनको क्रममा दर्शकमा फिल्मप्रति जुन उत्साह देख्यौं, त्यसबाट एकदमै खुसी छौं । विस्तारै नर्भसनेश पनि कम हुँदैछ । अब फिल्मको प्रदर्शनलाई लिएर उत्साहित छु,’ धिरज मगरले भने । दशैंमा नेपाली दर्शकले नेपाली फिल्मलाई नै माया गर्दै आएकाले ‘बाबरी’ सफल हुने उनको विश्वास छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यस फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको लगानी छ । उनीहरु अभिनेत्री अदिती बुढाथोकीका आमा-बुबा हुन् ।

