
लोकेशन नेपाल नामक कम्पनीको माध्यमबाट अन्तर्राष्ट्रिय फिल्मको नेपालमा लाइन प्रोड्युसरको रुपमा काम गर्दै आएका गौतम धिमाल अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) २०२२ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको घोषणा यही अक्टोबर २५, २०२२ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरस्थित कार्नेगी हलको जाङ्केल हलमा हुनेछ । यो अवार्डबाट सम्मानित हुने धिमाल पहिलो नेपाली फोटोग्राफर हुन् ।
लोकेशन नेपाल र गेहेन्द्र धिमाल फाउण्डेशनका अध्यक्ष समेत रहेका धिमाललाई उनको परियोजना ‘हिमालयन फेसन एडभेन्चर’को लागि विज्ञापन तथा फेसनको व्यावसायिक श्रेणीमा तेस्रो पुरस्कार प्रदान गर्न लागिएको हो । अहिले १९औं वर्षमा आयोजना भईरहेको इन्टरनेशनल फोटोग्राफी अवार्ड (आईपीए) ले अवार्डका लागि हरेक वर्ष हजारौं तस्विरहरु सबमिशन प्राप्त गर्दछ ।
मुख्यतः फेसन, विज्ञापन र प्रकृति र वन्यजन्तुको लागि आफ्नो फोटोग्राफी सीपको प्रयोग गर्ने उनी लामो समयदेखि नेपालमा छायांकन हुने विदेशी फिल्मका लागि लाइन प्रोड्युसरको रूपमा काम गर्दै आइरहेका छन् भने हालै उनले एक स्वदेशी फिल्मको समेत निर्माण गरेका छन् । अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) बाट सम्मान हुन लागेकोमा उनले खुसी व्यक्त गरेका छन् । यो अवार्डले आफूलाई थप जिम्मेवारी थपेको उनको भनाई छ ।
धिमालले थुप्रै स्थानीय र अन्तर्राष्ट्रिय फिल्म निर्माण कम्पनीसँग मिलेर काम गरिसकेका छन् । उनले विविसी वान, फक्स, डिज्नी, रेड बुल, कोकाकोला, नेस्टी, प्यानासोनिक, भिक्स, निप्पोन प्रिन्ट, सामसोनाइट, दूसन, केल्लोग्स जस्ता विश्व प्रख्यात ब्रान्डहरूसँग सहकार्य गरेका कम्पनीहरु हुन् ।

