.jpg)
नेपाली फिल्मले वर्षौंदेखि विदेशी फिल्मको चुनौतीको सामना गर्दै आएको छ । अर्बौंको लगानीका विदेशी फिल्मसँग २/३ करोडमा बनेका नेपाली फिल्मले प्रतिस्पर्धा गरेर पनि कयैन् पटक बाजी मारेका उदाहरण छन् । यसपटक दुई ठूला हिन्दी फिल्म ‘विक्रम वेधा’ र ‘पोन्निन सेल्वान’ (पिएस वान) सँग प्रतिस्पर्धा गर्ने हिम्मत नेपाली फिल्म ‘बाबरी’ गरेको छ । यो आँट आफैंमा साहसिक हो ।
मल्टीप्लेक्सहरुले ‘विक्रम वेधा’ र ‘पिएस वान’लाई बढी काखी च्याप्ने निश्चित छ । त्यसमाथि ‘प्रेमगीत ३’को नेपाली र हिन्दी भर्सनले हल नछाड्ने हुँदा ‘बाबरी’ले सुरुवातमा अपेक्षाकृत शो हात नपार्न सक्छ । यो अवस्थामा फिल्मको प्रमुख हतियार भनेको ‘वर्ड अफ माउथ’ हो । दर्शक र समीक्षकबाट फिल्मलाई राम्रो प्रतिक्रिया मिल्यो र दर्शक पनि बढे भने स्वभाविक रुपमा शोमा वृद्धि हुनेछ ।
फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’ मिलेको खण्डमा दशैंको लामो विदा लोट्री बराबर हुनेछ । बलियो स्टारकास्ट, गतिलो प्रचार-प्रसार, लोकप्रिय गीत-संगीत र ट्रेलरले बढाएको हाइपका कारण फिल्मको इनिसियल व्यापार सुखद् रहने विश्लेषण गरिएको छ । तर, नेपालमा समेत प्रतिक्षा गरिएको ‘विक्रम वेधा’ र ‘पिएस वान’सँगको प्रतिस्पर्धा ‘बाबरी’का लागि सानोतिनो चुनौती भने होइन ।
असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘बाबरी’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको पनि अभिनय छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्मको निर्माण गरेका हुन् । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् ।

