.jpeg)
भुटानी अभिनेत्री उगेन छोदेनले फिल्म ‘२ नम्बरी’बाट नेपाली फिल्ममा अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । यो फिल्ममा उनको जोडी नेपाली सुपरस्टार दयाहाङ राईसँग बाँधिएको छ । असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा उगेन भुटानी नागरिककै भूमिकामा रहेको मंगलवार सार्वजनिक ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा उनको अभिनय स्वभाविक लाग्छ ।
पहिलो पटक नेपाली फिल्ममा काम गर्दा रमाइलो अनुभव भएको उगेन बताउँछिन् । ‘२ नम्बरी’ सफल भएको खण्डमा नेपाली फिल्मलाई निरन्तरता दिने योजनामा रहेकी उनले ट्रेलर रिलिज कार्यक्रममा भनिन्, ‘फिल्ममा काम गर्दाको अनुभव एकदमै राम्रो रह्यो । सबै कलाकारले मलाई परिवार जसरी माया दिनुभयो । नेपाल रहँदा भुटान मिस नै भएन । जोक गरेर नै सुटिङ सकियो ।’
भुटान र नेपाली फिल्मको छायांकन शैली लगभग एउटै भए पनि प्राविधिक हिसाबमा नेपाली फिल्म अब्बल रहेको उनको भनाई छ । ‘भुटान र नेपाली फिल्मको छायांकन शैली त एउटै हो । तर, यहाँ अलि डिटेलिङमा काम हुँदो रहेछ । अनि, टेक्निकल रुपमा पनि नेपाली फिल्म धेरै नै राम्रो रहेछ । भुटानको फिल्मभन्दा टेक्निकल रुपमा एक स्तर माथि पाएँ नेपाली फिल्म,’ उगेनले भनिन् ।
नेपालमा वितरकले फिल्म वितरण गर्ने भए पनि भुटानमा निर्माताले नै हलमा फिल्म देखाउनु पर्ने अवस्था रहेको उगेनले बताइन् । भुटानमा फिल्म प्रदर्शन गर्न धेरै गाह्रो रहेको अनुभव साट्दै उनी भन्छिन्, ‘हाम्रोमा वितरक भन्ने हुँदैनन् । निर्माताले नै हलमा फिल्म चलाउनु पर्छ । फिल्म चलाउन हल कुरेर बस्नुपर्छ । एकदमै गाह्रो हुन्छ ।’ उनी ‘२ नम्बरी’ प्रदर्शन नभएसम्म नेपालमा नै बस्नेछिन् ।

