मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाका विभिन्न विधाहरुलाई एकीकृत गर्नुपर्छ : हरिहर शर्मा

फिल्मीखबर, काठमाण्डौ, 2022/09/28
बरिष्ठ कलाकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप-कुलपति हरिहर शर्माले कलाका विभिन्न विधाहरुलाई एकिकृत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलवार नेपाल म्युजिक भिडियो निर्देशक समाजद्वारा आयोजित ‘विजया दशमी २०७९ शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम’मा उनले कलाका सबै माध्यमको उद्देश्य आफ्नो कथा भन्नु रहेको धारणा राखे ।
 
haihar sharma
 
हरिहरले भने- ‘प्रस्तुति कलाका सबै माध्यमको उद्देश्य आफ्नो कथा भन्ने हो, यसमा जुन-जुन विधाहरु छन् सामूहिक रुपमा काम गर्नुपर्छ । यि सबै एक अर्कामा अन्योन्याश्रित छन् । अलग-अलग बाटो हिँड्यो भने स्थायित्व पाउन असम्भव हुन्छ ।’ नेपाली कलाको क्षेत्रमा अर्को नयाँ संस्थाको उदय भएकोमा खुशी व्यक्त गर्दै शर्माले म्यूजिक भिडियो पनि फिल्मको एउटा हिस्सा रहेको बताए । 
 
शर्माले म्यूजिक भिडियोको महत्व दर्शाउँदै भने- ‘सानो होस् या फिल्म वा म्यूजिक भिडियो, यी सबैको उत्तिकै महत्व छ । यदि हामीले फिल्मबाट गीतलाई अलग्गै निकाल्ने हो भने त्यो गीतलाई म्यूजिक भिडियोको रुपमा हेर्न सकिन्छ । तसर्थ हामीले यसबारेमा गम्भीर भएर सोच्नुपर्छ ।’ विश्वभर नेपाली कला फैलाउन फिल्मसँगै म्यूजिक भिडियोको योगदान पनि ठूलो रहेको उनको भनाई छ ।
 
उक्त कार्यक्रममा नेपाल म्युजिक भिडियो निर्देशक समाजले नेपाली म्यूजिक भिडियोका क्षेत्रमा बिशिष्ट योगदान पुर्‍याउने तीन जना निर्देशकहरुलाई सम्मान प्रदान गर्नुका साथै संरक्षक तथा सल्लाहकारहरु र साधारण सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रममा म्यूजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र संगीता श्रेष्ठलाई विशिष्ट सम्मान प्रदान गरियो । 
 
नेपाल म्युजिक भिडियो निर्देशकका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकारहरु बरिष्ठ गायक, संगीतकार, गीतकार, फिल्म लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसंगीत तथा नेपाली फिल्मको डिजिटल प्रवर्द्धक ओम प्रकाश अग्रवाल, चर्चित निर्देशक एवं कोरियोग्राफर शिव बि.क. र समाजका प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
 
haihar sharma
 
निर्देशक समाजका केन्द्रिय अध्यक्ष विधान कार्कीले संस्थाको महत्व र आवश्यकताबारे प्रष्ट पारेका थिए । नेपाली म्यूजिक भिडियो निर्देशकहरुको परिचय र पहिचान स्थापित गर्दै उनीहरुका हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको उनको भनाई थियो । म्यूजिक भिडियोलाई राज्यबाट पहिचान दिलाई संस्थागत गर्ने काममा संस्था लागिरहेको कार्कीले बताए । 
 
कार्यक्रममा समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठ र प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डेले संस्थाको उद्देश्य र स्थापनाको यात्राबारे जानकारी गराए । कार्यक्रममा कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल, निर्देशक तथा कलाकार दीपाश्री निरौलालगायतले शुभकामना व्यक्त गरे ।