.jpg)
लोकप्रिय अभिनेत्री श्वेता खड्का आगामी मंसिरमा आमा बन्दैछिन् । अहिले उनको गर्भमा ७ महिनाको शिशु हुर्किरहेको छ । आमा बन्न लागेका कारण उनी महिनौंदेखि सार्वजनिक कार्यक्रममा पुगेकी थिइनन् । सोमवार भने आफू सम्मानित हुने एक कार्यक्रममा बेबी बम्पसहित उनले पहिलो पटक मिडियासँग साक्षात्कार गरिन् । आमा बन्न लागेको खुसी उनको अनुहारमा छल्किएको थियो ।
सुरुमा आफूलाई आमा बन्न लागेको कुरा विश्वास गर्न पनि गाह्रो भएको अनुभव साट्दै अभिनेत्री खड्काले सञ्चारकर्मीसँग भनिन्, ‘अहिले जीवनमा जुन परिवर्तन आएको छ, आफैंलाई भाग्यमानी महसुस गरिरहेको छु । जब आमा बन्दैछु भन्ने डाक्टरबाट सुनेँ त्यो क्षण म शब्दमा भन्न पनि सक्दिनँ । म कापेकी थिएँ । २/३ महिना त मलाई म आमा बन्दैछु र भन्ने खालको महसुस भएको थियो ।’
उनी आमा बन्न लाग्दा उत्साहितसँगै नर्भस पनि रहेको बताउँछिन् । गर्भ बढ्दै जाँदा शारीरिक दुखाई बढी हुने र त्यसबेला आफूले आमालाई धेरै सम्झिने गरेको श्वेताको भनाई छ । ‘मेरो आमाले कसरी चारजना सन्तान जन्माउनु भयो होला भन्ने लाग्छ । मलाई एउटा बच्चा जन्माउन यति गाह्रो भएको छ, आमाले कसरी चारजना सन्तान जन्माएर हुर्काउनुभयो होला भन्ने सोच्छु,’ उनी भन्छिन् ।
उनले २०७७ सालको मंसिरमा विजयन्द्र सिंह रावतसँग बिहे गरेकी थिइन् । उनले विवाह गरेकै महिनामा पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । श्वेता पछिल्लो समय फिल्मभन्दा आफ्नो व्यवसायमा बढी केन्द्रित छिन् । पछिल्लो पटक फिल्म ‘कान्छी’को निर्माण गरेकी श्वेता खड्का पहिलो सन्तानलाई जन्म दिएपछि फिल्म निर्माण तथा अभिनयमा कमब्याक गर्ने योजनामा रहेकी छन् ।

