
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह स्टारर लभस्टोरी फिल्म ‘तिम्रो मेरो साथ’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलवार फिल्मका निर्माता तथा निर्देशक रमेश एमके पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै आगामी पुष २९ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्मलाई माघे सक्रान्तिको छेको पारेर प्रदर्शन गर्न लागिएको हो ।
आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सन्दिप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुनको पनि अभिनय रहेको छ । यो फिल्मबाट इमीली लामा र दीपिसा केसीले डेब्यू गरेका छन् । पासाङ् लामा निर्माता, सबिर श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘तिम्रो मेरो साथ’को सह-निर्मातामा निरू भण्डारी, अशोक पोख्रेल, सुमन पौडेल, सुधिर पराजुली छन् ।
फिल्ममा सुवास भुषाल र योगेश काजीको संगीत, रमेश एमके पौडेल र बि. पाण्डेको शब्द रचना, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, शिव ढकालको छायांकन, सबिर श्रेष्ठ र बाबुराम निरौलाको लेखन छ । ब्यांकेटेश इन्टरटेन्मेन्ट र काफिया फिल्मस्ले फिल्मको वितरण गर्ने जिम्मा लिएका छन् । पुष्प र साम्राज्ञीले यसअघि फिल्म ‘मारुनी’मा एकसाथ काम गरेका थिए ।

