हिन्दीमा डब भएर पहिलो पटक नेपाली फिल्म ‘प्रेमगीत ३’ले विश्वको दोस्रो ठूलो फिल्म बजार मानिने भारतमा पाइला टेक्यो । यो नेपाल र नेपाली फिल्म क्षेत्रका लागि नै गर्वको कुरा हो । तर, भारतमा फिल्मको व्यापार खासै उत्साहजनक छैन । पहिलो दिन ९२ लाखको सुखद् ओपनिङ गरेको फिल्म दोस्रो दिनबाट खस्किएको छ । यसको मुख्य कारण ‘वर्ड अफ माउथ’ बलियो नहुनु हो ।
यो फिल्मको हिन्दी डब सोमवार घटस्थापनाबाट नेपालमा पनि प्रदर्शनमा आएको छ । हिन्दी भाषाको टिजर, ट्रेलर र गीत-संगीत हेरेपछि दर्शकमा फिल्मको हिन्दी डबको प्रतिक्षा व्यग्र थियो । तर, चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिसमा ढिलाई भएपछि फिल्म सोमवार अर्थात् आजबाट मात्र प्रदर्शनमा आएको हो । फिल्मको नेपाली भर्सन भने शुक्रवारबाटै प्रदर्शनमा आएको थियो ।
.jpg)
फिल्मको हिन्दी डब नेपाल आउन ढिला भएपछि ‘प्रेमगीत ३’को पखाईमा बसेका दर्शकले पहिला नेपाली भर्सन नै हेरे । तर, जुन अपेक्षाको भारी बोकेर दर्शक हल गएका थिए, त्यसअनुरुप फिल्म नपाएपछि हिन्दी डबलाई पनि पैसा खर्च गर्ने रुचि देखाएका छैनन् । सोमवार काठमाडौंसहितका मल्टीप्लेक्सहरुमा फिल्मको हिन्दी डबको टिकट बुकिङको अवस्था हेर्दा पनि त्यो देखिन्छ ।
घटस्थापनाको सार्वजनिक विदामा फिल्मको हिन्दी डबभन्दा नेपाली भर्सनको नै बुकिङ उच्च छ । यसबाट दर्शकले नेपाली फिल्म जुनसुकै भाषामा डब भए पनि आफ्नै भाषाको फिल्म हेर्न चाहन्छन् भन्ने सन्देश दिएका छन् । हिन्दी डबको टिकट कम विक्री हुनुमा भारतबाट शुक्रवार नै फिल्म पाइरेसी हुनु र भारतीय समीक्षकबाट कमजोर प्रतिक्रिया मिल्नुको प्रभाव हुन सक्ने देखिन्छ ।
फिल्मको हिन्दी डब शुक्रवारबाट नै नेपालमा प्रदर्शनमा आएको भए नेपाली भर्सनको समेत कलेक्सन जोड्दा सर्वाधिक कमाईको रेकर्ड बन्ने निश्चित थियो । तर, नेपाली भर्सनले नै उम्दा प्रतिक्रिया नपाउँदा तीन दिनपछि नेपाल आएको हिन्दी डबको व्यापारमा धेरै ठूलो असर पुगेको छ । विदाको दिनमा समेत हिन्दी डबको बुकिङ अपेक्षाकृत नहुनु निर्माण टिमका लागि चिन्ताको विषय हो ।
हिन्दी डबले राम्रो कमाई गर्ने विश्वासमा मल्टीप्लेक्सहरुले नेपाली भर्सनको शोमा भारी मात्रामा कटौती गरेका छन् । तर, दर्शकको रोजाईमा नेपाली भर्सन नै परेको छ । फिल्म ‘प्रकाश’को समयमा एक बलिउड फिल्मका कारण कम शो पाएको भन्दै आक्रोश पोखेका अभिनेता प्रदीप खड्का यतिबेला आफ्नो फिल्मलाई आफ्नै हिन्दी डबले कुनामा पुर्याउँदा चाहिँ खुसी होलान् कि दुःखी ?

