
फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबलाई निर्माण टिमले भारतसँगै नेपालमा शुक्रवारबाटै प्रदर्शन गर्ने तयारी गरेको थियो । तर, निर्माण कम्पनीको कर चुक्ताको प्रमाणपत्र पेश नभएपछि बोर्डले फिल्मको सेन्सर सिफारिस रोक्यो । जसले गर्दा फिल्म नेपालमा शुक्रवार रिलिज हुन सकेन । निर्माण कम्पनीले कर चुक्ताको प्रमाणपत्र पेश गरेपछि भने बोर्डले आइतवार सेन्सर सिफारिस दिएको छ ।
तर, बोर्डले ‘प्रेमगीत ३’को हिन्दी डबलाई सेन्सर सिफारिस दिन विभिन्न कानुनी अड्चन निकालेको, ढिलासुस्ती र अवरोध गरेको आरोप निर्माण टिमले लगाउँदै आएको छ । यसबारेमा बोर्डले आइतवार एक विज्ञप्ति जारी गर्दै सेवाग्राहीको कुनै पनि काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको स्पष्टिकरण दिएको छ । ‘प्रेमगीत ३’ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएको पनि बोर्ड अध्यक्ष भुवन केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘प्रेमगीत ३’को निर्माण टिमले असोज ७ गते कर चुक्ताको प्रमाणपत्र पेश गर्न साथ पुनःस्वराङ्कनको स्वीकृति दिएको र असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनसाथ चलचित्र जाँचका लागि सिफारिस भएको बोर्डले विज्ञप्तिमार्फत् जानकारी गराएको छ । विज्ञप्तिमा बोर्डले ‘प्रेमगीत ३’को हिन्दी डबको सेन्सर सिफारिसको विषयमा बुँदागत रुपमा ६ वटा स्पष्टिकरण दिएको छ ।
.jpg)
‘प्रेमगीत ३’को सन्दर्भमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका भ्रामक, अतिरन्जित, कपोकल्पित, लान्छनायुक्त विवादास्पद अभिव्यक्ति एवं समाचारप्रति खेद प्रकट गर्दै बोर्डले आगामी दिनमा समाचार प्रकाशन, प्रसारण तथा टिका-टिप्पणी गर्दा सत्य-तथ्यका आधारमा रहेर गर्न पनि आग्रह गरेको छ ।

