
बलिउड सुपरस्टार शाहरुख खान फिल्म ‘पठान’बाट ५ वर्षपछि पर्दामा फर्किँदैछन् । जसले गर्दा यो फिल्मको प्रतिक्षा दर्शकहरुमा व्यग्र छ । यसपछि उनी अभिनति फिल्म ‘जवान’ प्रदर्शनमा आउनेछ । यो फिल्ममा उनको लुक्सले अहिलेसम्म अलग छ र उनका प्रशंसकहरु फिल्म हेर्नका लागि अधैर्य छन् । फिल्मको घोषणाको भिडियोलाई यूट्युबमा २९ मिलियन बढी भ्यूज मिलिसकेको छ ।
फिल्मप्रति दर्शकको बढ्दो क्रेजका कारण ‘जवान’ले प्रदर्शन पूर्व नै लगानी सुरक्षित गरेको छ । साउथमा ब्लकबस्टर फिल्म दिएका एटलीले निर्देशन गरेको फिल्मको राइट्स खरिद गर्न विभिन्न कम्पनीबीच हानाथाप चलेको थियो । यसैक्रममा, फिल्मको ओटीटी राइट्स खरिद गर्न नेटफ्लिक्स सफल भएको छ । नेटफ्लिक्सले फिल्मको ओटीटी राइट्स १ सय २० करोडमा खरिद गरेको हो ।
फिल्मको स्याटलाइट राइट्स पनि विक्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतको जी टीभीले फिल्मको स्याटलाइट राइट्स १ सय ३० करोडमा खरिद गरेको बताइएको छ । ओटीटी र स्याटलाइट राइट्सबाटै फिल्मले २ सय ५० करोड कमाएको छ । १ सय ८० करोडको लागतमा निर्माण भएको ‘जवान’ले प्रदर्शन अगावै २ सय ५० करोड कमाउँदै लगानी सुरक्षित गरेको छ ।
पेन इन्डिया फिल्मको बढ्दो क्रेजका बीच शाहरुखले फिल्ममा एटलीसँग सहकार्य गरेका हुन् । एटलीले अभिनेता विजयलाई लिएर ‘बिगिल’, ‘थेरी’, ‘मेरसल’ फिल्मको निर्देशन गरिसकेका छन् । फिल्ममा शाहरुखको अपोजिटमा साउथ अभिनेत्री नयनतारा छिन् । फिल्ममा विजय सेतुपति नकारात्मक भूमिकामा छन् । यो फिल्म तमिल, तेलुगू, मलयालम र कन्नड भाषामा पनि प्रदर्शन हुनेछ ।

