
अब्बल अभिनय गर्ने कलाकारको नाम लिँदा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल छुट्दैनन् । उनीहरुले फिल्ममा भिन्न-भिन्न चरित्र निर्वाह गरेर आफूलाई अभिनयमा प्रमाणित गरिसकेका छन् । व्यावसायिक रुपमा एकअर्काको प्रतिस्पर्धी भनिए पनि यो जोडीले एकसाथ फिल्ममा पनि काम गर्दै आएको छ । ‘लुट’ र ‘कबड्डी’ सिरिज उनीहरुको सहकार्य भएको सुपरहिट फिल्म हो ।
दयाहाङ र सौगातले अभिनय गरेको ‘कबड्डी ४’ले नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड राखेको छ । यो फिल्मको सफलतापछि करिअरको थप उचाईंमा पुगेका उनीहरुको अब असोज २१ गते नयाँ फिल्म ‘२ नम्बरी’ प्रदर्शन हुँदैछ । ‘कबड्डी ४’पछि दया र सौगातको जोडी दोहोरिएकाले उक्त फिल्मले बक्सअफिसमा सफलता पाउन सक्ने विश्लेषण गरिएको छ ।
हिट जोडीको अभिनय रहेका कारण कतिपयले ‘२ नम्बरी’लाई ‘कबड्डी’ सिरिजको नयाँ संस्करण समेत भनेका छन् । तर, निर्देशक तथा लेखक दीपेन्द्र लामाले फिल्मको कथा ‘कबड्डी’ सिरिजभन्दा विल्कलै फरक रहेको र दयाहाङ-सौगातको जोडीलाई दर्शकले रमाइलो शैलीमा हेर्न पाउने बताएका छन् । दशैंको टीकापछि दर्शकहरुले रमाइलो फिल्म हेरेर फ्रेस हुन सक्ने उनको भनाई छ ।
निर्माण पक्षले मंगलबार फिल्मको ट्रेलर सार्वजनिक गर्दैछ । ‘२ नम्बरी’का प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्ममा दयाहाङको जोडीको रुपमा उगेन छोदेन र सौगातको जोडीको रुपमा उपासना सिंह ठकुरी छन् । उगेन भुटानकी चर्चित अभिनेत्री हुन् । उनले यही फिल्मबाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन् । यो फिल्मको टिजर तथा गीतले दर्शकमा एकखालको छाप छाडिसकेको छ ।

