भारतीय अभिनेता तथा निर्देशक विशाल देसाईंले पहिलो पटक नेपाली फिल्मको निर्देशन गर्ने तयारीमा छन् । दशैंपछि छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘सायरा’लाई उनले निर्देशन गर्ने जिम्मेवारी पाएका हुन् । पहिलो पटक नेपाली फिल्मको निर्देशन गर्न उनी उत्साहित छन् । बाल्यकालमा धेरै सफल बलिउड फिल्महरुमा अभिनय गरेका उनी ‘मास्टर विट्टू’ उपनामले परिचित छन् ।
नेपाली फिल्मको गुणस्तरीयता र नेपालको सुन्दरताले आफूलाई नेपालसम्म तानेको देसाईंको भनाई छ । ‘सायरा’लाई हिन्दीमा डब गरेर विश्वभर प्रदर्शन गर्ने उनको योजना छ । यसअघि नेपाली फिल्मको बारेमा आफूलाई जानकारी नभए पनि निर्माता पुस्कर झाले केही नेपाली फिल्मको ट्रेलर देखाएपछि निर्देशन गर्न तयार भएको उनले बताए । उनी नेपाली फिल्मको मेकिङको प्रशंसा गर्छन् ।

नेपालको लोकेशन विश्वलाई फ्रेस लाग्ने र भिएफएक्सले पूरा गर्नुपर्ने दृश्य नेपालमा प्राकृतिक रुपमा नै रहेको देसाईंको भनाई छ । उनी आफू ‘सायरा’को निर्देशन गर्न तयार हुनुको अर्को कारण फिल्मको कथावस्तु रहेको बताउँछन् । फिल्ममा नेपाल र भारतको संयुक्त टिम हुने र मुख्य सहायक निर्देशक नेपालकै हुने भएकाले भाषाको हिसाबमा निर्देशन गर्न गाह्रो नहुने उनको विश्वास छ ।
बलिउड फिल्मको मेकिङ र नेपाली फिल्मको मेकिङमा पनि फरक नभएको उनको तर्क छ । उनी भन्छन्, ‘जसरी यहाँ मेकिङ हुन्छ, त्यस्तै हो । बलिउडमा कथा तयार भएपछि कलाकारलाई सुनाउछौँ । त्यसपछि लगानी जुट्छ । त्यसपछि टिम तयार हुन्छ । हरेक डिपार्टको हेडले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । हामीले सबैसँग गरेको सम्झौता अनुसार कामलाई अगाडि बढाउछौँ ।’
फिल्मको घोषणाका लागि नेपाल आएको समयमा देसाईंले पशुपतिनाथको दर्शनसँगै काठमाडौं आसपासको घुमघाम गरेका थिए । अब आउँदा पोखरा र लुम्बिनी घुम्ने उनको योजना छ । उनले आफूलाई नेपाली थकाली खाना मन परेको पनि बताएका छन् । अष्ट्रेलिया र नेपालमा खिचिने ‘सायरा’मा आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्दिकीको अभिनय रहनेछ ।

