फिल्म प्रदर्शनका लागि दशैं र तिहार सबैभन्दा उपयुक्त समय मानिन्छ । यी दुई पर्वमा लामो विदा हुने भएकाले निर्माताहरु दशैं र तिहार हत्तपत्त छाड्न चाहँदैनन् । बरु, एउटै मितिमा अरु नेपाली फिल्मसँग भिड्न तयार हुन्छन् । तर, यसपाली फागू पूर्णिमामा दशैं र तिहारमा भन्दा ठूलो भिडन्त हुने सम्भावना देखिएको छ । एकपछि अर्को फिल्मको आँखा फागू पूर्णिमामा नै अडिएको छ ।
फागुन २२ देखि २४ गतेसम्म लगातार सार्वजनिक विदा भएकाले फागुन १९ गतेलाई अहिलेसम्म चार फिल्म ‘परस्त्री’, ‘वर एन्ड वधु’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यो मिति ‘छक्का पञ्जा ४’ले पनि रोजेपछि अरु तीन फिल्मका निर्माताहरु तनावमा छन् । अब यी चारवटै फिल्मलाई नायक अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ले तनाव दिने देखिएको छ ।
.jpg)
छायांकनरत ‘छड्के २’ले अहिलेसम्म प्रदर्शन मिति तोकेको छैन । तर, निर्माण टिमले छायांकनमा जानुभन्दा अगावैदेखि फागुन १९ मा फिल्म प्रदर्शन गर्नेबारे विचार गरिरहेको थियो । अब यो मितिमा चार फिल्म आउने निश्चित भएपछि निर्माण टिम अन्योलमा छ । यद्यपि, निर्माता भने फागुन १९ मै फिल्म प्रदर्शन गर्न तयार देखिएका छन् । केही दिनमै रिलिज मितिको टुंगो लाग्ने स्रोत बताउँछ ।
‘छड्के २’ले फागुन १९ मै प्रदर्शन मिति घोषणा गर्यो र यो मितिबाट अरु फिल्म लाखापाखा लागेनन् भने यस वर्षकै सबैभन्दा ठूलो महासंग्राम हुनेछ । विदेशी फिल्म देख्दा भाग्ने तर नेपाली फिल्मसँग छाती फुलाएर भिड्ने प्रवृतिका कारण प्रायः हरेक हप्ता नेपाली फिल्महरु एक आपसमै भिडेर बसेका छन् । जसले न निर्मातालाई फाइदा मिलेको छ न फिल्म क्षेत्रको मुहार फेरिन सकेको छ ।
निगम श्रेष्ठको निर्देशन रहेको ‘छड्के २’मा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपालको पनि अभिनय छ । फिल्ममा अनमोल ग्याङस्टरको भूमिकामा छन् । काभ्रे फिल्म्स, मेधा डिजिटल र निर्भाना फिल्म स्कूलको ब्यानरमा निर्मित फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको लेखन निगमकै हो ।

