Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

मोफसल दौडाहामा निस्कियो ‘हिजो आजका कुरा’को टिम

फिल्मीखबर, काठमाडौं, 2022/09/23
hijo aajako kura
 
यही असोज २८ गतेबाट प्रदर्शनमा आउन लागेको साकार पन्त निर्देशित फिल्म ‘हिजो आजका कुरा’ले मोफसल केन्द्रित प्रचार अभियान थालेको छ । शुक्रवारबाट फिल्मको टिमले मोफसलका विभिन्न सहरमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछ । पहिलो दिन नेपाली फिल्मको ठूलो बजार मानिने नेपालगन्जस्थित भाटभटेनी सुपरमार्केटमा निर्देशकदेखि कलाकारसम्मले दर्शक भेट्नेछन् ।
 
नेपालगन्जपछि फिल्मको टिम शनिवार पूर्वको तीन सहरहरु धरान, इटहरी र विराटनगर पुग्ने कार्यक्रम छ । यी तिनवटै सहरको भाटभटेनी सुपरमार्केटमा फिल्मका कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की, दिब्यदेव पन्त, बिनय कुइँकेल, अनुष्का अधिकारीसँगै निर्देशक साकार पन्तले दर्शकसँग भेट गर्नेछन् । फिल्मको प्रचारमा भाटभटेनीले सघाएको छ । 
 
दोस्रो चरणको मोफसल टूर अन्तर्गत भने पोखरा, चितवन, हेटौंडालगायतका सहरमा पुग्ने योजनामा निर्माण टिम रहेको छ । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाले तयार पारेका हुन् । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह निर्माता बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र रहेका छन् । 
 
फिल्ममा केकी अधिकारी, रिमा बिश्वकर्मा, स्वं. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, सविन शाक्य, निराजनप्रसाद अर्याल, कमला रेग्मी, रिहान केसीलगायतको पनि अभिनय छ । सबै वर्गका दर्शकले हेर्न मिल्ने गरी सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको फिल्मलाई मोफसलमा एफडी कम्पनी र राजधानीमा आरआर फिल्मस्ले वितरण गर्दैछ ।