.jpg)
असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘२ नम्बरी’को प्रचारमा हिँड्न भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छन् । बिहीवार विहान उनी नेपाल आइपुगेकी हुन् । भुटानको फिल्म इन्डस्ट्रीमा ठूलो नेम र फ्रेम बनाएकी उनले ‘२ नम्बरी’बाट नेपाली फिल्ममा अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । अब, उनले फिल्म प्रदर्शन नहुन्जेलसम्म नेपालमा बसेर प्रचारमा साथ दिनेछिन् ।
फिल्मका कलाकारहरु अन्य फिल्ममा व्यस्त हुँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन । तर, अब उगेन नेपाल आएसँगै केही दिनमै ट्रेलर सार्वजनिक गर्ने तयारी गरिएको छ । फिल्ममा उगेनको जोडीको रुपमा अभिनेता दयाहाङ राई छन् । उनी फिल्मको छायांकन सकेर गत वर्ष भुटान फर्किएकी थिइन् । उनी आफ्नो पहिलो नेपाली फिल्मलाई लिएर उत्साहित छिन् ।
फिल्ममा अभिनेता सौगात मल्ल पनि मुख्य भूमिकामा छन् । ‘कबड्डी ४’को सफलतापछि दयाहाङ र सौगात एकसाथ देखिएकाले ‘२ नम्बरी’ दर्शकमाझ प्रतिक्षीत छ । फिल्मले उनीहरुको मित्रताको कथा बोल्छ । यसअघि सार्वजनिक गीत र टिजरमा पनि त्यो देखिन्छ । यो फिल्मको निर्मातामा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठ छन् भने किरण नेपाली प्रस्तुतकर्ताको रुपमा छन् ।
फिल्मको निर्देशन तथा लेखन दीपेन्द्र लामाको हो । सरोज नेपाली कार्यकारी निर्माता रहेको यस फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ । बलियो स्टारकास्टका कारण ‘२ नम्बरी’ बक्सअफिसमा सफल हुने विश्लेषण गरिएको छ ।

