Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

३९ वर्षको उमेरमा बिहे गर्दै बुद्दि तामाङ

फिल्मीखबर, काठमाडौं, 2022/09/22
Buddhi Tamang
 
चर्चित कलाकार बुद्दि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनले असोज ७ गते शुक्रवार (भोली) मकवानपुरकी अनु थिङ तामाङसँग लगनगाँठो कस्न लागेका हुन् । ३९ वर्षको उमेरमा दुलहा बन्न लागेका बुद्धिको अनुसँग मागी विवाह हुन लागेको हो । उनीहरुको विवाह समारोह शुक्रबार कौशलटारको एक पार्टी प्यालेसमा हुँदैछ । उनीहरुको विवाह तामाङ परम्पराअनुसार हुनेछ ।
 
३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन् । परिवारको माध्यमबाट अनुसँग भेट भएको बुद्दिले जानकारी दिएका छन् । उनले लामो समयदेखि मिडिया र फिल्मकर्मीबाट विवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दै आएका थिए । केही समय अगाडि एक अन्तर्वार्तामा उनले बिहेको प्रशंसामा आफ्नो कदका कारण अहिले विवाह गरे बालविवाहको मुद्धामा परिने भन्दै ठट्टा गरेका थिए । 
 
हरेक प्रकारको भूमिकामा जीवन्त अभिनय गर्ने कलाकारको रुपमा चिनिएका बुद्दि ‘हैट’ उपनामले दर्शकमाझ चर्चित छन् । विरामी आमाको उपचार गर्नका लागि पैसा जुटाउन जन्मथलो काभ्रेबाट २०५६ सालमा काठमाडौं छिरेका उनले लामो समय इट्टा भट्टामा काम गर्नेदेखि रेस्टरेन्टमा भाँडा मास्नेसम्म काम गरेका थिए । डबली थिएटरसँग ठोकिएपछि भने तामाङको जीवन नै बदलियो । 
 
केही वर्षयता उनी हाँस्य चरित्रमा सबैभन्दा बिकाउ कलाकारमा पर्छन् । कमेडी फिल्म उनीविना अधुरो नै हुने गर्छ । अहिले उनी एउटा फिल्मका लागि ५ देखि ७ लाखसम्म पारिश्रमिक लिने गर्छन् । उनी अभिनीत ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिज सर्वाधिक सफल छ । तामाङले ‘मन्त्र’, ‘घामपानी’, ‘नाई नभन्नु ल’, ‘वीर विक्रम’, ‘कृष्ण लीला’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन् ।