संसारका धेरै देशमा व्यवसायहरु २४ सैं घन्टा खुल्छन् । विशेषगरी राजधानी सहरमा । रात्री जीवन राजधानीको एउटा सौन्दर्य पनि हो । रात्री जीवन हेर्नका लागि पनि विभिन्न देशबाट पर्यटकहरु आउने गर्छन् । त्यसमा नेपाल पनि पर्छ । तर, नेपालमा केही सीमित क्षेत्रबाहेक अन्य क्षेत्र २४ सैं घन्टा खोल्न अनुमति छैन । शान्ति सुरक्षाका कारण राज्यले यो सुविधा उपलब्ध गराउन नसकेको हो ।
तर, काठमाडौंका क्लबहरु विहान ४ बजेसम्म पनि खुल्ने गर्छन् । जुन सुरक्षाको हिसाबले चुनौतीपूर्ण मानिन्छ । तर, परिवारसहित पपर्कनको साथमा मोबाइल समेत अफ गरेर फिल्म हेर्नुपर्ने सिनेमा हललाई भने ११ बजेपछि सञ्चालनको अनुमति छैन । यदि कुनै व्यवसायहरु रातीको समयमा पनि राम्रोसँग चल्छ भने त्यसलाई चल्न दिनुपर्छ । सुरक्षाको प्रत्याभुति गराउने काम सरकारको हो ।
.jpg)
गत हप्ता चलचित्र विकास बोर्डले रातीको ११ बजेसम्म मात्र फिल्म चलाउन हलवालाहरुलाई निर्देशन दिँदै सूचना प्रकाशित गर्यो । त्यसबाहेकको समयमा फिल्म चलाउनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ । ‘प्रेमगीत ३’ टिमले यो नियमप्रति आपत्ति जनाउँदै हलहरु रातभर खुल्न पाउनुपर्ने बताएपछि यस विषयमा फिल्म क्षेत्रमा बहस सुरु भएको छ ।
धेरै फिल्मकर्मीले हलहरु २४ सैं घन्टा खुल्न पाउनुपर्ने तर्क राखेका छन् । फिल्म निर्माता, कलाकार, निर्देशक तथा वितरक अशोक शर्माले रातीको ११ बजेसम्म हलहरुमा सम्पूर्ण शो सकिसक्नु पर्ने चलचित्र विकास बोर्डको नियम सरासर गलत रहेको बताएका छन् । उनले दयाराम दाहाल अध्यक्ष रहेको बेला आवश्यक भए हलहरु २४ सैं घन्टा खोल्ने सहमति भएको पनि उल्लेख गरेका छन् ।
‘दयाराम दाहाल अध्यक्ष भएको बेला सबै संघ-संस्थासहित बसेको बैठकले आवश्यक भए २४ सैं घन्टा हल खोल्ने सहमति भएको छ । पटक-पटक सहमति तोड्ने नियम बदल्ने राम्रो चलन होइन । क्लब-रेस्टुरेन्टहरु २४ सैं घन्टा खोल्न मिल्ने सिनेमा हल किन नमिल्ने ?,’ उनले चलचित्र विकास बोर्डलाई प्रश्न गरेका छन् । उनको यो धारणामा धेरै फिल्मकर्मीहरुले एक्यबद्धता जनाएका छन् ।
हलहरु रातभरी खुल्न पाउनुपर्ने तर्क कलाकार हरिवंश आचार्यको पनि छ । महानगरको सुन्दरता रात्री जीवन पनि रहेको बताउँदै आचार्यले भनेका छन्, ‘कसैले रातीको समयमा व्यवसाय गर्छु भन्यो भने पाउनुपर्छ । देश शान्ति प्रक्रियामा गएर शान्ति भइसकेको अवस्थामा महानगरमा रात्री समयको चहलपहल हुनुपर्छ । रातीको ११ बजेपछि फिल्म चलाउन नपाउने नियम परिवर्तन गर्नुपर्छ ।’

