Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरिवंश आचार्यको तर्क- ‘अहिले बिच्चको धारको फिल्मको आवश्यकता छ’

फिल्मीखबर, काठमाडौं, 2022/09/22
Hari Bansha Acharya
 
फिल्म ‘दाल भात तरकारी’पछि महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अभिनय गरेको फिल्म ‘महापुरुष’ कात्तिक ११ गते (भाईटीकाको भोलीपल्ट) बाट प्रदर्शनमा आउने तयारीमा छ । महजोडीको अभिनयसँगै ‘जात्रा’ सिरिज र ‘शत्रु गते’का निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका कारण दर्शकको ठूलो जमातमा उक्त फिल्मको पखाई जति छ, अपेक्षाको भारी त्योभन्दा धेरै छ । 
 
हरिवंश आचार्य ‘महापुरुष’ स्तरीयता र व्यापारिक धार दुवैको समिश्रण रहेको बताउँछन् । मंगलवार फिल्मको दोस्रो गीत रिलिज कार्यक्रममा उनले भने- ‘नेपाली फिल्मको स्तर र बजार बढ्दै गएको छ । बजारमा अहिले बिच्चको धारको फिल्मको आवश्यकता छ । बिच्चको भनेको स्तरीयता पनि छाड्नु भएन र व्यापारिक धार पनि छाड्नु भएन । ‘महापुरुष’ यी दुवै धारमा बसेर बनेको छ ।’
 
मह सञ्चारबाटै फिल्म मेकिङको कखरा सिकेका प्रदीप भट्टराईसँग महजोडीले यसअघि फिल्म ‘शत्रु गते’मा सहकार्य गरेका थिए । ‘महापुरुष’ उनीहरुको दोस्रो सहकार्य हो । निर्देशनमा आफूलाई प्रमाणित गरिसकेको निर्देशकको टिममा आफूहरु पर्न पाउँदा खुसी लागेको हरिवंश बताउँछन् । उनले निर्देशक भट्टराई नेपाली फिल्मका लागि काम लाग्ने मान्छे रहेको भन्दै प्रशंसा पनि गरे । 
 
निर्देशक भट्टराईले भने समाजभित्र जगडिएको मान्यतालाई फिल्मले भत्काउन प्रयास गर्ने बताए । ‘फिल्ममा ग्रोथ हुँदै जानुपर्छ भन्ने हिसाबमा ‘महापुरुष’ बनाएका छौं । हामी रमाइलो फिल्म बनाउने मान्छे भनेर चिनिएकाले फिल्ममा त्यसलाई पनि छाडेका छैनौं । समाजभित्र जगडिएको मान्यतालाई भत्काउने फिल्म हो यो । त्यो चिज भत्कियो भने हामी सफल भएको ठान्ने छौं,’ प्रदीपले भने ।