Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’को हिन्दी डबले पायो सेन्सर अनुमति, १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने

फिल्मीखबर, काठमाडौं, 2022/09/21
prem geet 3
 
फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्नका लागि नेपाली फिल्म सरह सेवा-सुविधा दिन निर्माताले चलचित्र विकास बोर्डमा निवेदन बुझाएपछि फिल्म क्षेत्र दुई कित्तामा बाँडिएको थियो । एकथरीले हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्न विदेशी फिल्म झैं १५ प्रतिशत विकास शुल्क लिनुपर्ने तर्क राखेका थिए भने अर्काथरीले नेपाली फिल्म सरह सेवा-सुविधा दिनुपर्ने बताएका थिए । 
 
अन्ततः यो विवाद सुल्झिएको छ । बोर्डबाट हिन्दीमा डबिङको अनुमति नलिइ डब गरेकाले फिल्मको हिन्दी डबलाई विदेशी फिल्म मान्दै १५ प्रतिशत विकास शुल्क लिने गरी चलचित्र विकास बोर्डले सेन्सर अनुमति दिएको छ । बुधवार बोर्ड अध्यक्ष भुवन केसीले फिल्मका निर्माता र वितरकलाई हिन्दी डबको सेन्सर अनुमति पत्र थमाए । फिल्मको नेपाली भर्सनको भने सेन्सर भइसकेको छ ।
 
साथै, फिल्मका वितरकले भन्सार शुल्क बापत २० हजार रुपैयाँ समेत तिरेका छन् । अब, फिल्मको हिन्दी डबले नेपालमा गरेको कमाईको १५ प्रतिशत विकास शुल्क तिर्नुपर्नेछ । विदेशी फिल्मले मात्र १५ प्रतिशत शुल्क तिर्नुपर्ने नियम छ । नेपाली ‘प्रेमगीत ३’ले भने यो शुल्क तिर्नु पर्दैन । विकास शुल्कको विवाद मिलेपछि बोर्ड अध्यक्ष र वितरकहरुले एकसाथ तस्विर समेत खिचाएका छन् ।
 
‘प्रेमगीत ३’का निर्माताले हिन्दी भाषामा डब गर्नुअघि चलचित्र विकास बोर्डबाट पुनः स्वरांकनको अनुमति लिएका थिएनन् । जसले गर्दा उक्त फिल्मलाई नेपाली फिल्म सरह सुविधा अर्थात् १५ प्रतिशत विकास शुल्क मिनाहा गर्न बोर्डको हात बाँधिएको थियो । अन्ततः फिल्मको हिन्दी डबलाई विकास शुल्क तिर्नुपर्ने गरी सेन्सर अनुमति दिएर बोर्डले एउटा गतिलो नजिर स्थापित गरेको छ ।