.jpg)
कमै कलाकारको भाग्यमा हुन्छ, डेब्यू फिल्म नै सुपरहिट हुने । यसमानेमा ‘लक्की’ अभिनेत्री हुन्, आना शर्मा । अभिनेता अनमोल केसीको दोस्रो फिल्म ‘जेरी’बाट उनको अभिनेत्रीको रुपमा प्रवेश भएको थियो । फिल्म बक्सअफिसमा हिट हुँदा आनालाई करिअर अगाडि बढाउन सजिलो भयो । यो फिल्मपछि उनलाई केही वर्ष कामको कमी पनि भएन । तर, सफलता भने पाउन सकिनन् ।
‘जेरी’पछि उनले हेमराज विसी निर्देशित फिल्म ‘ग्याङस्टर ब्लूज’मा अभिनेता आशिरमान देशराज जोशीको अपोजिटमा अभिनय गरेकी थिइन् । प्रदर्शनभन्दा अगाडि फिल्मको ठूलो हाइप भए पनि बक्सअफिसमा टाँट पल्टियो । न त आनाको अभिनयकै प्रशंसा भयो । त्यसपछि उनले फिल्म ‘द म्यान फ्रम काठमाडौं’मा अभिनय गरिन् । तर, यो फिल्मले पनि निराशाजनक नतिजा निकाल्यो ।
दुई फिल्मको असफलतापछि आना लामो समय कामविहीन भइन् । त्यो समयमा उनी अफेयरका कारण मिडियामा चर्चाको पात्र बनिन् । लकडाउनअघि उनलाई निर्देशक प्रवेश पौडेलको एक नयाँ फिल्म हात परेको थियो । तर, कोरोनाका कारण निर्माण हुन सकेन । त्यसपछि उनले नयाँ फिल्म पाउनका लागि दुई वर्ष कुर्नुपर्यो । गत असारमा उनले फिल्म ‘मायाको माया’ साइन गरिन् ।
यतिबेला यो फिल्मको छायांकन भइरहेको छ । करीब ३ वर्षपछि फिल्मको सुटिङमा फर्किन पाएकोमा आना पनि प्रफुलित छिन् । ‘मायाको माया’मा काम गर्न पाउँदा उनलाई राहत त मिलेको छ अब फिल्मले पनि सफलता पाए धरमराएको करिअरलाई भरपर्दो टेको मिल्नेछ । फिल्ममा उनीसँगै राजेश हमाल र अनुपविक्रम शाहीको पनि अभिनय छ । फिल्ममा आनाको जोडी अनुप हुन् ।

