Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

सुरेन्द्रलाई फिल्म सम्पादनभन्दा निर्देशन गर्न रमाइलो

फिल्मीखबर, काठमाण्डौ, 2022/09/21
फिल्म सम्पादन गर्दागर्दै सुरेन्द्र पौडेलले फिल्म ‘आभाष’बाट निर्देशनमा फड्को मारे । यो फिल्म बक्सअफिसमा अपेक्षाकृत रुपमा सफल हुन नसके पनि उनको निर्देशकिय क्षमताको प्रशंसा भयो । त्यसपछि उनले फिल्म ‘कृ’ निर्देशन गरे । यो फिल्मले उनलाई निर्देशकको रुपमा स्थापित गर्न ठूलो मद्दत गर्‍यो । अब, सुरेन्द्र निर्देशित तेस्रो फिल्म ‘बाबरी’ असोज १४ गतेबाट प्रदर्शन हुँदैछ ।
 
दुई दर्जन बढी फिल्मको सम्पादन गरिसकेका उनी सम्पादनभन्दा निर्देशन गर्न रमाइलो लाग्ने बताउँछन् । सम्पादन गर्दा निर्देशकले दिएको एउटा दायरामा बसेर काम गर्नुपर्ने भएकाले निर्देशनमा आफ्नो क्रियशन निकाल्न पाइने उनको अनुभव छ । उनी भन्छन्, ‘सम्पादन गर्दा निर्देशकले दिएको बाउन्ड्रीमा बसेर काम गर्नुपर्छ । जब आफैं फिल्म निर्देशन गरिन्छ तब पौडी खेल्न पाइन्छ नि ।’
 
Surendra Poudel
 
निर्देशक भएर काम गर्दा यो सिनलाई यसरी खिच्छु र कथालाई यसरी भन्छु भनेर निर्णय गर्न सकिने तर सम्पादनमा त्यो छुट नहुने सुरेन्द्रको अनुभव छ । सम्पादनभन्दा निर्देशनमा आफूलाई फ्रिडम महशुस हुने पनि उनले बताए । उनले ‘बाबरी’ आफैंले सम्पादन गरेका होइनन् । निर्देशनसँगै स्क्रिप्ट लेखन आफैंले गरेकाले फ्रेसनेस ल्याउन सुरेन्द्रले सम्पादनमा साथीको सहयोग लिएका छन् ।
 
‘बाबरी’ अर्ति-उपदेश दिने हिसाबमा नभइ रमाइलो लागि बनाएको र दर्शकलाई रमाइलो गराउनेमा उनी विश्वस्त छन् । ‘फिल्म हेर्दा क्यारेक्टरहरु हामीले गाउँ-घरमा देखिरहेकै जस्तो लाग्छ । हाम्रो गाउँ-घर वरपरकै कथा छ फिल्ममा । यो फिल्ममा सबैभन्दा ठूलो कुरा भिलेन छैन । समय-परिस्थिति भिलेन बनेको छ,’ उनी भन्छन् । फिल्ममा प्रस्तुतिकरण केही फरक रहेको उनको भनाई छ । 
 
गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेको यस फिल्ममा अदिती बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोन लगायतको अभिनय रहेको छ । फिल्ममा समावेश दुई गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत यतिबेला सर्वाधिक चर्चामा छ ।