
भारतीय कमेडियन राजू श्रीवास्तवको दिल्ली एम्समा उपचारको क्रममा बुधवार निधन भएको छ । ४१ दिनदेखि अस्पतालमा उनको उपचार भइरहेको थियो । उनको परिवारले राजू श्रीवास्तवको निधनको पुष्टि गरेको हो । १० अगस्टमा जिममा एक्सरसाइज गर्ने क्रममा उनको स्वास्थ्य अचानक विग्रिएको थियो र अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले हार्ट अट्याक पुष्टि गरेका थिए ।
राजू श्रीवास्तवको वास्तविक नाम सत्य प्रकाश श्रीवास्तव हो । उनको जन्म २५ डिसेम्बर १९६३ मा कानपुरको नयापुरवामा भएको थियो । सन् १९९३ बाट उनको हाँस्य यात्रा सुरु भएको थियो । सन् १९८० मा उनी कानपुरबाट मुम्बई भागेका थिए । घरबाट भाग्ने क्रममा उनले नाम कमाएर मात्र फर्किने वाचा गरेका थिए । र, मुम्बईमा वर्षौं संघर्ष पश्चात् उनले आफ्नो ठूलो नेम र फ्रेम बनाए ।
घरबाट भागेर मुम्बई आएपछि उनले पैसाका लागि अटो चलाउन सुरु गरेका थिए । उनलाई अटोमा नै पहिलो स्ट्यान्ड-अप कमेडी शोको मौका मिलेको थियो । त्यसका लागि उनलाई ५० रुपैयाँ मिलेको थियो । उनलाई भारतमा स्ट्यान्डअप कमेडीको सुरुवात गर्ने कमेडियन भन्ने गरिन्छ । राजूले ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’, ‘एक स्ट्यान्ड-अप कमेडी शो’बाट ठूलो सफलता पाएका थिए ।
उनले फिल्ममा समेत अभिनय गरेका छन् । फिल्म ‘तेजाब’बाट उनको बलिउड यात्रा सुरु भएको थियो । यसपछि उनले ‘मैंने प्यार किया’, ‘बाजीगर’, ‘आमदनी अठन्नी खर्चा रुपैयाँ’, ‘बिग ब्रदर’, ‘बम्बे टू गोवा’ लगायतका फिल्ममा महत्त्वपूर्ण भूमिका निर्वाह निभाए । उनले १६ फिल्म र १४ टीभी शोमा काम गरेका छन् । सन् २०१४ मा भाजपाबाट उनी लोकसभा चुनावमा समेत उठेका थिए ।

