
प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म ‘महापुरुष’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘बेमौसमी’ बोलको रोमान्टिक गीतमा दुई पुस्ताको प्रेमलाई देखाइएको छ । गीतको भिडियोमा हरिवंश आचार्य र गौरी मल्लसँगै डेब्यू कलाकार अरुण क्षेत्री र अञ्जना बराईली फिचर्ड छन् । गीतको अडियो र भिडियो पक्ष सशक्त छ ।
विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने प्रमोद के. भण्डारीको कोरियोग्राफी छ । एसडी योगी र रेश्मा पुनको युगल स्वर रहेको गीतमा गायक योगीकै संगीत र राम अविरल विष्टको शब्द रचना छ । विपी राजमार्ग र त्यस नजिकका रमणीय ठाउँहरुमा खिचिएको गीतको भिडियोमा हरिवंश-गौरी र अरुण-अञ्जनाको केमेस्ट्री सुहाएको देखिन्छ ।
आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय छ । फिल्मको कथा निर्देशक भट्टराईकै हो ।
समाजले कसरी मान्छेलाई महापुरूष बनाउँछ भन्ने स्थितिलाई ‘महापुरूष’ले व्यंग्य गरेको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डि. गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा फिल्ममा डेब्यू गरेका छन् ।

