काठमाडौंमा केन्द्रित रहेर प्रचार-प्रसार गरिरहेको फिल्म ‘बाबरी’को टिमले मोफसल दौडाहा सुरु गर्ने भएको छ । असोज ५ गते पूर्वको विर्तामोडबाट सुरु गरिने मोफसल यात्रा देशका ६ ठूलो सहरमा आयोजना हुने निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा फिल्मको टिमले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नेछ ।
.jpg)
असोज ९ गतेबाट १२ गतेसम्म भने काठमाडौं विभिन्न ठाउँमा सांगीतिक कन्सर्टको आयोजना गर्ने निर्माण टिमको तयारी छ । गीत-संगीत र ट्रेलरले फिल्मको राम्रो हाइप बनाएकाले प्रचारलाई थप चुस्त बनाउनका लागि मोफसल यात्रा सुरु गर्न लागेको निर्मात्री पुष्पलता बुढाथोकीले जानकारी दिइन् । मोफसल पनि फिल्मको ठूलो बजार रहेकाले ५ वटा सहर पुग्न लागेको उनको भनाई छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा अदिती बुढाथोकी, धिरज मगर, धिरज नाडकर (टोटलानी), बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको अभिनय छ । फिल्मको निर्मातामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी छन् भने सह निर्मातामा सिक्किमकी सुष्मा गुरुङ छिन् ।
सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, निर्देशक पौडेलले सम्पादन गरेका हुन् । फिल्मको दुई गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत यतिबेला चर्चामा छ । यी दुई गीतले फिल्मको इनिसियल व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।

