
फिल्म ‘लुटेर’का निर्माता तथा वितरक गोपालकाजी कायस्थले नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैंचा’ निर्माण गर्ने भएका छन् । सोमवार भक्तपुरमा एक कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभ मुहूर्त गरियो । नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमाथि फिल्म निर्माण हुन लागेको हो । कायस्थले यसअघि पनि केही नेपाल भाषाको फिल्महरु बनाएका छन् ।
बिके फिल्मस्को ब्यानर निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ । गोपालकाजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र शाक्य निर्माता हुन् । बडा दशैंको अवसर पारेर असोज १० गतेबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । फिल्मको सह-निर्मातामा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम छन् ।

फिल्ममा इन्दिरा लाछिमस्यु, गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठलगायतको मुख्य भूमिका रहनेछ । फिल्ममा निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत, जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन, जुजुकाजी रंजित र बानिका प्रधानको गायन र सोहन मानन्धरको छायांकन रहनेछ ।

