Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा ‘प्रेमगीत ३’ हिन्दीमा प्रदर्शन नगर्न अशोक शर्माको आग्रह

फिल्मीखबर, काठमाडौं, 2022/09/19
अहिलेका बच्चाहरुले नेपालीभन्दा हिन्दी भाषा चाँडै सिकिसकेका हुन्छन् । टीभी तथा अन्य डिजिटल प्लेटफर्मबाट भारतीय फिल्म, गीतसंगीत, सिरियल सजिलै हेर्न पाइने हुँदा नेपालमा नेपालीभन्दा हिन्दी भाषा बोल्ने र बुझ्नेको संख्या बढ्दो छ । यसले दीर्घकालिन रुपमा नेपाललाई पार्ने प्रभाव भयावह देखिन्छ । तर, नेपालमा बढ्दो भाषा अतिक्रमणको बारेमा राज्य मौन छ । कुनै चिन्ता छैन ।
 
ashok sharma and premgeet 3
 
विदेशी भाषाको अतिक्रमणलाई निस्तेज गर्न राज्यले नेपाली कला, साहित्य, फिल्महरुलाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । र, सर्जकहरुले पनि भाषा अतिक्रमण रोक्नका लागि पहल गर्नुपर्छ । तर, दुर्भाग्य ! हिन्दी फिल्महरुले नेपाली भाषामाथि ठूलो अतिक्रमण गरिरहेको अवस्थामा नेपाली फिल्म ‘प्रेमगीत ३’ भने हिन्दीमा डब भएर नेपालमा पनि हिन्दीमै प्रदर्शनको तयारीमा छ । 
 
‘प्रेमगीत ३’को हिन्दी डबलाई लिएर यतिबेला ठूलो विवाद उब्जिएको छ । फिल्मको निर्माण टिमले चलचत्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली भाषा सरह सुविधा दिन माग गर्दै निवेदन बुझाएपछि फिल्म क्षेत्र दुई कित्तामा विभाजित छ । कोही हिन्दी डबलाई नेपाली फिल्म सरह सुविधा दिन नहुने अडानमा छन् भने कोही नेपाली फिल्म नै भएकाले सेवा-सुविधा दिनुपर्ने बताइरहेका छन् ।
 
एउटा बौद्धिक वर्ग भने ‘प्रेमगीत ३’को हिन्दी डब नेपालमा प्रदर्शन भए भाषा अतिक्रमण बढ्नेमा चिन्तित छ । यस्तैमा, निर्देशक, निर्माता, कलाकार तथा वितरक अशोक शर्माले सोमवार फेसबुकमा स्टाटस लेख्दै हिन्दी डब नेपालमा प्रदर्शन गर्दा नेपाली भाषा, संस्कृतिमा दुर्गामी प्रभाव पर्ने भएकाले ‘प्रेमगीत ३’को हिन्दी डबिङ नेपालमा प्रदर्शन नगर्न फिल्मको टिमलाई आग्रह गरेका छन् । 
 
ashok sharma and mohan niraula
 
उनले लेखेका छन्, ‘‘प्रेमगीत ३’का निर्माता सन्तोष सेन, वितरक मनोज राठी र गोविन्द शाही तथा कलाकार प्रदीप खड्काहरुलाई विनम्र अनुरोध छ कि नेपालमा उक्त फिल्म नेपाली, अझ सम्भव भए देशका अन्य जातजातीका भाषामा डब गरी प्रदर्शन गराऊँ । तर, हिन्दीमा नगराऊँ । यसको दुर्गामी प्रभाव हाम्रो भाषा, संस्कृति र हाम्रो क्षेत्रमा पर्छ । यो मेरो अनुरोध हो निर्णय तपाईंहरुको ।’’
 
केही दिनअघि निर्देशक तथा कलाकार मोहन निरौलाले पनि फेसबुकमा स्टाटस लेख्दै नेपालमा नेपाली भाषामा मात्र फिल्म प्रदर्शन गर्नु सान्दर्भिक र न्यायोचित हुने बताएका थिए । उनले लेखेका थिए, ‘भाषालाई जीवन्त राख्नु हाम्रो पहिलो दायित्व र कर्तव्य हो ।’ भाषा अतिक्रमणबारे चिन्ता व्यक्त गर्ने अन्य फिल्मकर्मीले पनि ‘प्रेमगीत ३’लाई नेपालमा हिन्दीमा प्रदर्शन नगर्न आग्रह गरेका छन् ।