
हरेक वर्ष संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई मानपदवी, अलङ्कार तथा पदकबाट विभूषित गरिँदै आएको छ । यस वर्षको संविधान दिवसको अवसरमा ९ सय ९८ जना विभूषित हुने भएका छन् । सोमवार विभूषित हुनेहरुको नामावली सार्वजनिक गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेमा कला क्षेत्रबाट ३८ जना परेका छन् ।
सुकीर्तिमय राष्ट्रदीपबाट कलाकारहरु नीर शाह, राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गायक नन्दकृष्ण जोशी विभूषित हुने भएका छन् भने सुप्रबल जनसेवाश्रीबाट विभूषित हुनेको सूचिमा गायकहरु शम्भु राई, आनन्द कार्की, निर्देशकहरु प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, कलाकारहरु विराज भट्ट, दयाहाङ राई, दीपकराज गिरी, अर्जुन श्रेष्ठ, निरुता सिंह, संगीतकारहरु आलोकश्री, दीपक जंगम, चेतन सापकोटा, गायिकाहरु ज्ञानु राणा र सत्यकला राईको नाम छ ।
त्यस्तै, राष्ट्रपतिले भण्डारीले जनसेवाश्रीबाट कलाकारहरु प्रदीप खड्का, कुमार बस्नेत विक्रान्त, मनोहर सुनाम परियार, गायिकाहरु सुनिता दुलाल, गायकहरु कमल सुनार, कुलमान नेपाली, सुरेशकुमार नेपाल परियार, संगीतकारहरु सन्तोष श्रेष्ठ, दीपक शर्मा, सानुकान्छा शाही, नृत्य निर्देशक शिवराम विक, फिल्म निर्देशकहरु माधव खरेल, रमेश कोइराला, मोडल सनम कठायत र गीतकार डिल्ली नारायण पाण्डेलाई विभूषित गर्ने भएकी छन् ।
कलाकारहरु प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर बिक, गायकहरु नवीन पौडेल र किरण गजमेरलाई भने नेपाल सेवा प्रवीणबाट विभूषित गरिने भएको छ । रंग पत्रकार तथा चलचित्र पत्रकार संघका कोषाध्यक्ष प्रदीप कार्की ‘प्रवल जनसेवाश्री’बाट सम्मानित हुने भएका छन् । घोषणा गरिएको विभूषण नेपाली नयाँ वर्ष वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिन्छ ।

