यतिबेला फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबको विवाद उत्कर्षमा छ । यस फिल्मका निर्माताले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली फिल्म सरह सेवा-सुविधा दिन माग गर्दै निवेदन बुझाएपछि फिल्म सम्बद्ध संघ-संस्थाहरु नै फरक-फरक कित्तामा उभिएका छन् । नेपाल चलचित्र संघ हिन्दी डबलाई नेपाली फिल्म सरह नै सुविधा दिनुपर्ने पक्षमा छ भने निर्माता संघ त्यसको विपक्षमा छ ।
.jpg)
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का
‘प्रेमगीत ३’का निर्माताबाट निवेदन आएपछि यही विहीवार चलचित्र विकास बोर्डले राय लिनका लागि निर्माता संघसहित केही संघ-संस्थाका पदाधिकारीलाई बोलाएको थियो । जहाँ निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी डबलाई नेपाली फिल्म सरह सुविधा माग्नु राष्ट्रघात र देशद्रोही रहेको अभिव्यक्ति दिएका थिए । जसको यतिबेला फिल्म क्षेत्रमा व्यापक रुपमा आलोचना भइरहेको छ ।
तर, आइतवार निर्माता संघले अध्यक्ष खड्कालाई बचाउने हिसाबमा ‘प्रेमगीत ३’को हिन्दी डबलाई लिएर संघमाथि भइरहेको टिका-टिप्पणीको विषयमा ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ । जहाँ कहिँ कतै पनि अध्यक्ष खड्काले बोलेको राष्ट्रघाती र देशद्रोही शब्द गलत थियो भनिएको छैन । विज्ञप्तिबाट नै बुझ्न सकिन्छ कि अध्यक्षले बोलेका कुरामा निर्माता संघको समर्थन छ ।
संघका महासचिव सुनिल कुमार थापाले हस्ताक्षर गरेको विज्ञप्तिको सुरुवातमा ‘प्रेमगीत ३’ले नेपाली फिल्मको बजार विस्तारका लागि खेलेको भूमिकाको प्रशंसा गरिएको छ । तर, अन्तिममा विदेशी भाषाको फिल्मलाई देखाएर स्वदेशी सरहको सुविधाको माग दाबी गर्नु बाञ्छनीय नहुने र ऐन कानुनको बर्खिलाफ हुने भएकाले यसले भविष्यमा विकृतिको सुरुवात गर्ने उल्लेख गरिएको छ ।

‘प्रेमगीत ३’लाई प्रदर्शनको साथै कर तथा राजश्व छुटमा सहुलियत प्रदान गर्ने निर्माण पक्षको माग दाबी सम्बन्धमा चलचित्र क्षेत्रको एक मात्र नियमनकारी निकाय चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण, वितरण र प्रदर्शन ऐन तथा नियमावली मुताविक विधी तथा विधान अनुरुप गरिनु पर्ने पनि संघको विज्ञप्तिमा भनिएको छ । निर्माता संघ नेपाली फिल्मका निर्माताहरुको छाता संस्था हो ।

