Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ब्रान्डको नाममा नतर्साउन दीपकराजलाई ‘बुलाकी’ निर्देशकको चेतावनी

फिल्मीखबर, काठमाडौं, 2022/09/17
deepakraj giri and laxman sunar
 
दीपकराज गिरी र दीपाश्री निरौला समुहको फिल्म ‘छक्का पञ्जा ४’को मुहूर्त भएर छायांकन सुरु भएदेखि प्रदर्शन मितिलाई लिएर फिल्म क्षेत्रमा चासो सुरु भएको थियो । किनकि, यो ब्रान्डको न एक हप्ता वर न एक हप्ता पर कुनै फिल्म प्रदर्शन हुन चाहन्छन् । यसका अघिल्ला श्रृंखलाको व्यापारिक नतिजाले पनि भन्छ- ‘छक्का पञ्जा’ ब्रान्डसँग भिड्नु भनेको बाघको मुखमा हात हाल्नु हो ।
 
‘छक्का पञ्जा ४’ले प्रदर्शन मिति घोषणा गरेपछि धेरै फिल्मको प्रदर्शन प्रभावित हुने निश्चित थियो । अन्ततः शुक्रवार कलाकार तथा निर्माता दीपकराज गिरीले फागुन १९ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरे । यो घोषणाले फिल्म क्षेत्रमा एकखालको भूकम्प नै ल्याएको छ । किनकि, उक्त मिति केही समय अघि नै तीन फिल्म ‘वर एन्ड वधु’, ‘परस्त्री’ र ‘बुलाकी’ले ‘बुक’ गरिसकेका थिए ।
 
‘छक्का पञ्जा ४’ले पनि त्यही मिति रोजेपछि अब अन्य तीन फिल्मले के गर्लान् भन्ने चासो सुरु भएको छ । ‘बुलाकी’ टिम भने फागुन १९ बाट पछाडि नहट्ने अडानमा छ । यसका निर्देशक तथा लेखक लक्ष्मण सुनारले शुक्रवार फेसबुकमा स्टाटस लेख्दै ‘छक्का पञ्जा’का निर्माता दीपकराज गिरीलाई ब्रान्डको नाममा नतर्साउन चेतावनी दिँदै ‘बुलाकी’ फागुन १९ मै आउने उल्लेख गरेका छन् । 
 
bulaki - movie
 
त्यस्तै, फिल्मका कलाकार तथा लेखक विराज विष्टले दीपकराजको समुहलाई बाघ नसम्झन चेतावनी दिएका छन् । उनले शुक्रवार फेसबुकमा लेखेका छन्, ‘आफूलाई बाघ नै नसम्झिनु होला । कतिपय ठाउँमा युद्धकै क्रममा परिस्थित अनुसार बाघले पनि युद्ध हारेको इतिहास साक्षी छ ।’ विराजले यो मितिमा अरु १० वटा फिल्मले रिलिज तोके पनि ‘बुलाकी’ पछाडि नहट्ने बताएका छन् । 
 
‘बुलाकी’ यसअघि कात्तिक १८ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएपछि फिल्मको प्रदर्शन पोस्टपोन्ड भएर फागुन १९ मा पुगेको हो । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्रीलगायतको अभिनय छ ।