
‘बाजीगर’ त्यो फिल्म हो, जुन शाहरुख खानको करिअरमा एउटा ठूलो टर्निङ पोइन्ट थियो । उनलाई बलिउडको किङ बनाउन यो फिल्मको ठूलो हात छ । तर, यो फिल्मका लागि उनी पहिलो रोजाई थिएनन् । निर्देशक अब्बास-मस्तानले शाहरुखभन्दा पहिला अभिनेता अनिल कपूरलाई फिल्म अफर गरेका थिए । तर, उनले काम गर्न अस्वीकार गरेपछि ‘बाजीगर’ शाहरुखले पाएका थिए ।
पिंकविलासँगको अन्तर्वार्ताको क्रममा अब्बास-मस्तानले अनिल कपुरलाई फिल्म अफर गरेर स्टोरी समेत सुनाएको खुलासा गरेका छन् । उनीहरुले भनेका छन्, ‘अनिल कपूरले फिल्मको न्यारेसन सुनेपछि काम गर्न अस्वीकार गर्नुभयो । त्यसबेला उहाँले म जस्तो खालको फिल्ममा काम गरिरहेको छु, यो समयमा ‘बाजीगर’ जस्तो ‘एन्टी हिरो’को भूमिकामा काम गर्न सक्दिनँ भन्नुभएको थियो ।’
यसपछि शाहरुख खानसँग टिभी सिरिज ‘फौजी’मा काम गरिसकेका अमृत पटेलले अब्बास-मस्तानलाई शाहरुखको नाम सुझाए । अब्बास-मस्तानले शाहरुखलाई भेट गरेपछि स्टोरी सुनाए तर उनीहरु कन्फिडेन्ट थिएनन् । यसका बाबजूद पनि स्टोरी सुनेपछि शाहरुख काम गर्न रेडी भए । आफूहरुले खराब तरिकाले स्टोरी सुनाए पनि शाहरुख काम गर्न राजी भएको उनीहरु बताउँछन् ।
फिल्म रिलिजको दिन हलमा शाहरुखको क्यारेक्टरलाई मिलेको प्रतिक्रियाले आफूहरु हैरान भएको अब्बास-मस्तान स्मरण गर्छन् । उनीहरु भन्छन्, ‘हामीलाई यस्तो खालको प्रतिक्रिया आउँछ भन्ने अपेक्षा नै थिएन । त्यसबेला दर्शकले शाहरुखको अभिनय हेरेर ‘सुपरस्टार’ भनेका थिए ।’ सन् १९९३ मा आएको ‘बाजीगर’मा काजोल, शिल्पा शेट्टी र दलीप ताहिलको पनि अभिनय रहेको थियो ।

