सम्भवतः नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड ‘प्रेमगीत ३’ले बनाउन सक्नेछ । निर्माणको समयदेखि जुन खालको हाइप फिल्मले बनाएको छ, त्यसको सिधा प्रभाव बक्सअफिसमा पर्नेमा दुईमत छैन । हिन्दीमा डब भएर भारतमा पनि प्रदर्शन हुन लागेकाले फिल्म कस्तो बनेको होला भन्ने कौहुलताले नै केही दिन नेपालका हलमा दर्शकको मेला लाग्ने देखिन्छ ।
बडा दशैंको अवसर पारेर असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ फिल्म प्रदर्शन हुँदैछ । फिल्मको हिन्दी गीतदेखि ट्रेलरसम्म सार्वजनिक भएयता नेपालमा ‘प्रेमगीत ३’को हिन्दी भर्सनको पखाई ठूलो छ । त्यसैले असोज ७ मै नेपालमा फिल्मको नेपाली र हिन्दी भर्सन एकसाथ प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । तर, यतिबेला फिल्मको हिन्दी डबलाई लिएर विवाद उब्जिएको छ ।
.jpg)
फिल्मको निर्माण कम्पनी आसुसेन फिल्मस्ले चलचित्र विकास बोर्डमा बुधवार एक निवेदन बुझाउँदै ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्म सरह सुविधा मागेको छ । विदेशी भाषाका फिल्म नेपाल ल्याउँदा चलचित्र विकास बोर्डलाई आम्दानीको १५ प्रतिशत विकास शुल्क तिर्नुपर्छ । ‘प्रेमगीत ३’ हिन्दीमा डबिङ भएकाले यसलाई नेपाल ल्याउँदा १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने हुन्छ ।
यही छुटका लागि वितरकको आग्रहमा ‘प्रेमगीत ३’का निर्माताले बोर्डसँग हिन्दी डबलाई नेपाली फिल्म सरह सुविधा मागेका हुन् । फिल्मका निर्माताले निवेदन बुझाएपछि बिहीवार बोर्डले विभिन्न फिल्म सम्बद्ध संघ-संस्थासँग राय लियो । जसमा निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी भाषामा डब भएको फिल्मले नेपाली फिल्मकै सरह सुविधा माग्नु राष्ट्रघाती र देशद्रोही रहेको बताए ।
अध्यक्ष खड्काको यो अभिव्यक्ति आलोचित बनेको छ । विशेषगरी प्रदर्शक र वितरकले उनको बोलीको विरोध गरेका छन् । हुन पनि अध्यक्ष खड्काले बोलेको राष्ट्रघाती र देशद्रोही शब्द अपाच्य नै छ । नेपालमा दर्ता भएको कम्पनीले निर्माण गरेको फिल्मको हिन्दी डबलाई नेपाली फिल्म सरह सुविधा माग्नु आकाश खस्ने कुरा होइन । यसलाई राष्ट्रघाती र देशद्रोही भन्नु गम्भीर गल्ती हो ।
‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्म सरह सुविधा दिने वा नदिने भन्ने विषयमा चलचित्र विकास बोर्ड विभिन्न संघ-संस्था तथा व्यक्तिहरुसँग छलफलमा रहँदा फिल्म क्षेत्र भने दुई कित्तामा बाँडिएको छ । कसैले हिन्दी डबलाई हिन्दी भाषाकै हैसियतमा १५ प्रतिशत विकास शुल्कसहित प्रदर्शन गर्न दिनुपर्ने धारणा राखेका छन् भने प्रदर्शक र वितरकहरु यसको विपक्षमा उभिएका छन् ।
नेपाल चलचित्र संघका पूर्व अध्यक्ष तथा प्रदर्शक प्रदीप कुमार उदयले एउटा नेपाली फिल्मकर्मीले आफ्नो फिल्मको माध्यमबाट विश्वमा नेपाली फिल्मलाई चिनाउन गरेको प्रयासमा सहयोग गर्नुको सट्टा देशद्रोहको मुद्दा लगाउनु पर्ने अभिव्यक्ति दिनु बिडम्वना रहेको फेसबुकमा बताएका छन् । ‘प्रेमगीत ३’को यो प्रयास पहिलो भएकाले सके सम्मान गर्न नसके मौन बस्न उनको आग्रह छ ।
.jpg)
त्यस्तै, निर्माता, प्रदर्शक तथा वितरक छविराज ओझाले निर्माता संघका अध्यक्ष नवल खड्काको अभिव्यक्तिप्रति लक्षित गर्दै नेपाली फिल्म जुनसुकै भाषामा डबिङ भए पनि यसमा सम्पूर्ण फिल्मकर्मी र देशबासीले गर्व गर्नुपर्ने फेसबुकमा उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘मैले २३ वटा फिल्म बनाउँदा यो काम गर्न सकिनँ । निर्माता सन्तोष सेनलाई यो गौरवमय काम गर्नु भएकोमा धन्यवाद ।’
अर्का प्रदर्शक कविल द्वारले फेसबुकमा स्टाटस लेख्दै ‘प्रेमगीत ३’ नेपाली फिल्म हो कि होइन ? भनेर प्रश्न गरेका छन् । ‘अशुसेन फिल्म्स् नेपालमा दर्ता भएको नेपाली फिल्म निर्माण कम्पनी हो कि होइन ? नेपाली फिल्म विभिन्न भाषामा रेकर्डिङ गरी प्रदर्शनी हुनु राम्रो कि राम्रो ?’ उनले लेखेका छन् । अन्य प्रदर्शक तथा वितरकले पनि ‘प्रेमगीत ३’को हिन्दी डबप्रति समर्थन जनाएका छन् ।
प्रदर्शक र वितरकहरु ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्म सरह प्रदर्शन अनुमति दिनुपर्ने पक्षमा उभिएपछि बोर्डलाई थप दबाब सिर्जना भएको छ । तर, फिल्मले हिन्दी भाषामा डब गर्नका लागि अनुमति नलिएकाले ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्म सरह सुविधा प्रदान गर्न बोर्डलाई कानुन बाधक बन्नेछ । यो अवस्थामा बोर्डले सुझबुझपूर्ण निर्णय लिन आवश्यक देखिन्छ ।

