Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन ५ लाई तोक्यो ‘लण्डन टू पेरिस’ले प्रदर्शन मिति

फिल्मीखबर, काठमाडौं, 2022/09/15
london to peris
 
घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति घोषणा गरिएको छ । गत महिना लण्डन र पेरिसमा छायांकन भएको फिल्मलाई आगामी फागुन ५ गते प्रदर्शन गर्ने निर्णय निर्माण टिमले गरेको हो । फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले निर्माताले फिल्म प्रदर्शनका लागि फागुन ५ को मिति उपयुक्त ठानेका हुन् ।
 
तर, यो मितिमा फिल्मले सोलो रिलिजको अवसर भने पाउने छैन । यसअघि नै उक्त मिति फिल्म ‘परदेशी २’ले ‘बुक’ गरिसकेको छ । तर, दुवै फिल्मको कथावस्तु फरक भएकाले दर्शकले आफ्नो रोजाई अनुसारको फिल्म छनोट गर्न पाउनेछन् । ‘लण्डन टू पेरिस’मा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् ।
 
यो फिल्मबाट निश्चल र गरिमाले नायक-नायिकाको रुपमा डेब्यू गरेका छन् । ट्राभल लभस्टोरीमा आधारित फिल्ममा साम्राज्ञीको जोडी निश्चलसँग बाँधिएको छ । लण्डनको कम्पनी एबी इन्टरनेशनलको ब्यानरमा निर्मित ‘लण्डन टू पेरिस’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यसअघि प्रदीपले लेखेको कथामा निर्देशक लामिछानेले फिल्म ‘पञ्चेबाजा’ बनाएका थिए । 
 
फिल्मको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल छन् भने सह-निर्मातामा अजित सिंह छन् । ‘पासवर्ड’बाट फिल्म निर्माणमा होमिएको एबी इन्टरनेशनलले त्यसपछि ‘सम्हालिन्छ कहिले मन’ निर्माण गर्‍यो । गत जेठमा फिल्म ‘हनी बनी’को पनि निर्माण गरेको छ । यो कम्पनीले लण्डनमा छायांकन गर्ने गरी फिल्मको निर्माण गर्दै आएको छ ।