
बडा दशैंको अवसर पारेर आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाबरी’को तेस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीतले लोकप्रियता हासिल गरेपछि उत्साहित भएको निर्माण टिमले बिहीवार ‘मायाका रंगहरु’ बोलको रोमान्टिक गीत यूट्युब रिलिज गरेको हो । गीतमा रचना रिमाल र सनुप पौडेलको युगल स्वर रहेको छ ।
कालीप्रसाद बाँस्कोटा र सविन एकतारेको शब्द रचना रहेको यस गीतमा काली स्वयंले संगीत भरेका छन् । गीतको भिडियोमा भने फिल्मका प्रमुख कलाकारहरु अदिती बुढाथोकी र धिरज नाडकर रोमान्टिक भावमा प्रस्तुत छन् । उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । यही फिल्मबाट धिरजले नायकको रुपमा डेब्यू गरेका हुन् । सार्वजनिक गीतको अडियो र भिडियो दुवै पक्ष बलियो छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा धिरज र अदितीका अलावा धिरज मगर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको पनि अभिनय छ । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्मको सह-निर्मातामा सुष्मा गुरुङ छिन् । ‘बाबरी’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
निर्देशक पौडेलकै कथा रहेको फिल्ममा कालीसँगै सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ । काठमाडौं, झापा, मोरङ र सिक्किममा फिल्म खिचिएको हो । गीत-संगीत र ट्रेलरबाट राम्रो हाइप बनेकाले ‘बाबरी’ले दशैं विदाको फाइदा उठाउने अपेक्षा गरिएको छ ।

