
बलिउड सुपरस्टार रणबीर कपूर अभिनीत फिल्म ‘ब्रह्मास्त्र : शिवा’ले भारतीय बक्सअफिसमा आक्रामक कलेक्सन गरिरहेको छ । प्रदर्शनको तीन दिनमै सय करोडको आँकडा सजिलै पार गरेको फिल्मको भिएफएक्स पार्टलाई सर्वाधिक रुचाइएको छ । अब यो फिल्मको दोस्रो पार्ट ‘देवा’को प्रतिक्षा दर्शकमा व्यग्र छ । तर, यो फिल्मको दोसो पार्ट हेर्न झन्डै तीन वर्ष पर्खिनु पर्ने देखिएको छ ।
निर्देशक अयान मुखर्जीले सन् २०२५ मा फिल्मको दोस्रो पार्ट रिलिज गर्ने तयारी रहेको जानकारी दिए । उनले भनेका छन्, ‘२०२५ को डिसेम्बरमा दोस्रो पार्ट रिलिज गर्ने तयारी भइरहेको छ । फिल्मको स्क्रिप्टको काम पहिलो पार्टदेखि नै चलिरहेको छ । हामीले कयौं रिसर्च र करेक्सन पनि गरिसकेका छौं । यसप्रकारको फिल्मलाई कसरी बनाउने भन्ने कुरा पहिलो पार्टबाट धेरै सिकेका छौं ।’
यसप्रकारको फिल्मका लागि प्रि-प्रोडक्शन, भिएफएक्स र पोस्ट प्रोडक्शनमा पर्याप्त समय चाहिने भएकाले छायांकनमा निस्कन र प्रदर्शनका लागि हतार नगर्ने निर्देशक मुखर्जीको भनाई छ । ४ सय १० करोडमा निर्माण भएको ‘ब्रह्मास्त्र’मा रणबीरका अलावा आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन, मौनी रोयको पनि अभिनय रहेको छ । फिल्ममा शाहरुख खान केमियो भूमिकामा छन् ।

