.jpg)
सन् २०२३ मा विश्वव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको नेपाली फिल्म ‘गोर्खा वारियर’को यतिबेला लण्डनमा स्वरांकन (डविङ) को काम भइरहेको छ । हलिउड फिल्मका प्रख्यात डविङ आर्टिस्ट क्रिस्टोफर केन्टले फिल्मको टिजर र ट्रेलरमा आफ्नो स्वर दिएका छन् । उनले जेम्स बन्डको फिल्म ‘नो टाईम टु डाई’, ‘फ्रोजन २’, ‘आर्टिमिस फल’ जस्ता हलिउड फिल्ममा स्वरांकन गरेका छन् ।
‘गोर्खा वारियर २’ नाम राखेर फिल्मको निर्माण भए पनि अब ‘गोर्खा वारियर’ नाममा रिलिज हुनेछ । यसको दोश्रो संस्करण अर्थात् ‘गोर्खा वारियर २’ अर्को वर्ष निर्माण हुने निर्माता तथा निर्देशक मिलन चाम्सले जानकारी दिए । नेपाल, भारत, मलेशियालगायतका देशमा छायांकन भएको फिल्मलाई नेपालसँगै विदेशका विभिन्न ठाउँहरुमा एकसाथ रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
गोर्खा सैनिकले विश्व युद्धमा गरेको संघर्ष र सफलताको कथामा निर्माण भएको फिल्मको मुख्य नायकमा रितेश चाम्स छन् । लामो समयको पूर्वअभ्यासपछि उनले फिल्ममा डेब्यू गरेका हुन् । रितेशसँगै फिल्ममा बिजय लामा, रेविका गुरुङ, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
लन्डन सिनेआई प्रडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यस फिल्मको निर्मातामा सुस्मिता वाइवा, कार्यकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा सुरेश राई रहेका छन् । मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत यस फिल्ममा रहेको छ ।

